Logo

अर्थ

अर्थमन्त्रीद्वारा सहुलियतपूर्ण वित्तीय सहायता आह्वान



कायारो । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालजस्तो अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गरेका छन् ।

इजिप्टको शार्म अल शेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा गभर्नरहरूको बिजिनेश राउण्ड टेबलमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै डा. महतले नेपाल जस्ता अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठूलो अर्थ राख्‍ने भएकोले यसका लागि छुट्टै सहुलियतपूर्ण संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्‍ट्रलाई आह्‍वान गरेका हुन् ।

बैठकमा अर्थमन्त्री डा. महतले विश्‍व अर्थतन्त्रको स्थिरता, शून्य कार्बन उत्सर्जनतर्फको यात्रामा तीव्रता र निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास, गरिबी निवारण एवम् नागरिकको गुणस्तरयुक्त जीवनका लागि वित्तीय स्रोतमा पहुँच प्रमुख तीन चुनौती रहेको बताए ।

उक्त चुनौती सम्बोधनका लागि एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लगायतका बहुपक्षीय विकास बैंकहरूको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा गरे ।

न्यून आय भएका मुलुकका लागि आर्थिक पुनर्उत्थान र विकास, रोजगारी सिर्जना, हरित पूर्वाधार विकास, वित्तीय साधन स्रोतमा पहुँच विस्तार, प्राविधिक एवम् संस्थागत क्षमताको विकास, जलवायु सिर्जित विपद् व्यवस्थापन र अन्य सामाजिक सुरक्षाको क्षेत्रमा समेत सहयोग जस्ता माध्यमबाट एआइआइबी लगायतका बहुपक्षीय विकास बैंकहरूले महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने तथ्य प्रस्तुत गरे ।

खासगरी विकासशील सदस्य राष्‍ट्रका पूर्वाधार विकासका लागि धेरै वित्तीय स्रोतको आवश्यकता रहेको सन्दर्भमा हाल प्रचलित वित्तीय सहायता संयन्त्र एवम् उपकरण पर्याप्‍त नहुने यथार्थ इङ्गित गर्दै अर्थमन्त्री डा. महतले सो क्षेत्रमा नवप्रवर्तनको आवश्यकता रहेको तथ्य औंल्याए ।

कार्बन उत्सर्जनमा खासै भूमिका नरहेका तर जलवायु परिवर्तनको अत्यधिक असर र प्रभाव भोगिरहेका नेपाल र यस्तै अन्य विकासशील मुलुकका लागि मुलुकका लागि जलवायु वित्त तथा सो सम्बद्ध सुविधा वृद्धिमा समेत उहाँले जोड दिए ।

एआइआएबीको आठौं वार्षिक बैठकको अवसरमा आयोजित जलवायु परिवर्तनबाट सृजित समस्या सम्बोधनको उच्च आकांक्षा र सोका लागि अपेक्षित जलवायु वित्त परिचालन सम्बन्धी छलफलमा समेत अर्थमन्त्री महत प्यानेलिष्‍ट वक्ताको रूपमा सहभागी भए ।

सो अवसरमा अर्थमन्त्री डा. महतले कार्बन व्यापारको मूल्य पुनरावलोकन गरी उचित मूल्य कायम गर्न जरुरी रहेको तर्फ समेत सबै सहभागीहरूको ध्यानाकर्षण गराएका थिए । बैठकमा बैंकका ८६ सदस्य राष्‍ट्रको सहभागिता रहेको थियो । शार्म अल शेखमा आयोजित एआइआइबीको उच्चस्तरीय बैठकको मुख्य कार्यक्रम आज सम्पन्‍न हुँदैछ । औपचारिक कार्यक्रम सम्पन्‍न भएपश्‍चात् अर्थमन्त्री महत भोलि स्वदेशतर्फ फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : आश्विन ९, २०८० मंगलबार  ४ : १७ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।