Logo

अर्थ

दुई बिरामीको एकै पटक मिर्गौला प्रत्यारोपण गर्न सुमेरु अस्पताल सफल



काठमाडौं । धापाखेलमा रहेको सुमेरु अस्पतालले सफलतापूर्वक दुई बिरामीको मिर्गौला एकै पटक सफल रुपमा प्रत्यारोपण गरेको छ । दुई परिवारका सदस्यहरुबीच मिर्गौला आदान प्रदान गरेर सफल रुपमा मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । अस्पतालले आज एक कार्यक्रम आयोजना गरी दुई जना बिरामीको एकै पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको जानकारी गराएको हो ।

अस्पतालका अनुसार गएको असोज ३ गते बुधवार दुई परिवारबीच मृगौला साटासाट गरी सफलतापुर्वक प्रत्यारोपण गरिएको हो । अस्पतालले दुईजना बिरामीको मिर्गौला प्रत्यारोपण गर्न एकै पटक चारजना व्यक्तिको शल्यक्रिया गरेको थियो । नेपालको कानुनमा आफन्तले मात्रै मिर्गौला दिन पाइने कानुन रहेकोमा यी दुई बिरामीका आफन्तले एक आपसमा मिर्गौला साटासाट गरेर दिएका थिए ।

कानुनले नजिकको नातेदारले मात्र मृगौला दान गर्न सक्ने ब्यवस्था गरेको छ । नातेदार बाहेक कानुनले मृगौला पीडति दुई परिवारको बीच मृगौला आदानप्रदान गर्ने सहमति भएको खण्डमा पनि मिर्गौला प्रत्यारोपण गर्ने सुविधा दिएको छ । धापाखेलमा यस्तै बिरामीका दुई परिवारबीच एक अर्कालाई मिर्गौला दिएर दुई बिरामीको मिर्गौला प्रत्यारोपण सफल भएको हो । एक व्यक्तिको मिर्गौला अर्को व्यक्तिमा प्रत्यारोपण गर्न ‘म्याच’ पनि हुनुपर्ने व्यवस्था रहेको छ ।

सर्जन तथा बरिष्ठ युरोलोजिष्ट डा. विजयमान सिंह कटवालले मिर्गौला ट्रान्सप्लान्टको नेतृत्व गरेका थिए । उनको टोलीमा सिनियर सर्जन डा.डि.भि. कार्की, डा. किरण प्रसाद श्रेष्ठ , डा. जियाउल हक ,नेफ्रोलोजिष्ट तथा ट्रान्सप्लान्ट फिजिसियन डा. ललितकुमार यादव र डा. सुमित आचार्यलगायत डा. महालक्ष्मी देउजा, डा.एजेलिया अमात्य र डा. कुमार श्रेष्ठ रहेको थियो ।

डा. कटवाल नेपालमा पहिलोपटक ल्याप्रसकोपिक (ठूलो चिरफार नगरी दुरबिनको प्रयोगबाट गरिने शल्यक्रिया) प्रबिधिबाट मृगौला प्रत्यारोपण गर्ने पहिलो नेपाली सर्जन हुन् । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ९ बर्षसम्म युरोलोजी तथा मृगौला प्रत्यारोपण विभागमा सक्रियतापुर्वक सेवा प्रदान गरेका डा. कटवालको टिमसँग आठजना मृगौला ग्रहणकर्तालाई मष्टिस्क मृत्यु भएका ४ जनाको मृगौला समेत सफलता प्रत्यारोपण गरेको अनुभव छ । हालसम्म नेपालमा यसप्रकार मष्तिस्क मृत्यु भएका ६ जनाको मात्र मृगौला प्रत्यारोपण भएकोमा ४ जनाको शल्यक्रिया डा. कटवालको नेतृत्वमा भएको थियो ।

सुमेरु अस्पतालमा मृगौला प्रत्यारोपण निरन्तर हुँदै आए पनि यस्तो खालका कठिन शल्यक्रिया पहिलोपटक भएको अस्पतालले जनाएको छ । हालसम्म सुमेरु अस्पताल धापाखेलमा १९ वटा मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार १८:४४   :  बजे

231
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।