काठमाडाैं । काठमाडौं महानगर र अभियन्ता ई: का प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन भएको छ।
महानगरले बनाएको वार्ता टोली र ई:का प्रतिनिधिबीच मंगलबार दिउँसोदेखि राष्ट्रियसभा गृहमा वार्ता भएको थियो। मंगलबार रातिसम्म चल्दा पनि दुई पक्षबीचको वार्ता निष्कर्षविहीन भएको छ।
काठमाडौं महानगर सडक व्यवसायीलाई छठसम्म ठाउँ र समय तोकेर व्यापार गर्न दिन लचिलो भएको भनिए पनि आजकाे वार्ता निष्कर्षमा पुगेन। चाडपर्वलाई लक्षित गर्दै सडक व्यवसायीलाई व्यापार गर्न दिन महानगर तयार भएको महानगर स्रोतले जनाएको थियाे। उक्त विषयमा काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू र अभियन्ता ईः का प्रतिनिधिबीच छलफल भएको थियो।
वार्तामा महानगरबाट प्रवक्ता नवीन मानन्धर, कानुन न्याय तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य र मेयर बालेन शाहको सचिवालयबाट कुमार बेन, २२ का वडाध्यक्ष चिनीकाजी महर्जनलगायत टोली र ई:का तर्फबाट प्रतिनिधि गोविन्द नारायणलगायत सहभागी थिए।
वार्तामा काठमाडौं महानगरले सडक व्यवसायीलाई स्थान तोकेर व्यापार गर्न दिन लचिलो भएको बताएको छ। सडक व्यवसायीलाई व्यापार गर्न दिन महानगरले समय र स्थान पहिचान गर्न पहल गर्ने प्रस्ताव गरेको छ। यसबारे ईःका प्रतिनिधि र व्यवसायीहरूबीच थुप्रै पटक वार्ता भयो। तर व्यवसायीहरूले सहमति जनाएनन्। व्यवसायीहरूले पहिले आफूले व्यापार गरिरहेकै ठाउँमा व्यापार गर्न पाउनुपर्ने माग राखेका छन्। महानगरले उनीहरूको यो माग सम्बोधन गर्न नसक्ने भनेको छ।
मंगलबारको वार्ता निष्कर्षविहीन भएपछि अभियन्ता ईःले आफूले व्यवसायीहरूको पीडा बोलेको र महानगरले व्यवसायीहरूको माग सम्बोधन गरी उनीहरूको चित्त बुझाउनुपर्ने बताएका छन्। उपमेयर डंगोलले मंगलबार बिहान ई: लगायतसँग भेटेर कुराकानी गरेकी थिइन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोललाई चुनावी बाचापत्र सम्झाउन ई:ले महानगर अगाडि उभिएर बिराेध गरेका थिए । काठमाडौं महानगरका मेयर बालेन शाहले स्थानीय तहको चुनावअघि फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्ने भनेर गरेको वाचा पूरा गर्नुपर्नेलगायत माग ई:ले राखेका छन्। महानगर प्रहरीले फुटपाथ व्यवसायीमाथि गरेको दुर्व्यवहार अन्त्य गर्न पनि ई: ले माग गरेका छन्।





















प्रतिक्रिया