Logo

खेलकुद

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित



काठमाडौं । नेपाली क्रिकेट टोलीले मंगोलियाविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ ।

चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी अन्तरसहित पराजित गरेको हो ।

नेपाली ब्याटर कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको विस्फोटक ब्याटिङमा नेपालले कीर्तिमानी जित दर्ता गरेको हो ।

नेपालले प्रस्तुत गरेको ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमा समेटिएको छ । मंगोलियाका दावासुरेन जामयान्सुरेनले १० रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकको स्कार छुन सकेनन् । मगोलियाका ५ खेलाडी शुन्य रनमा आउट भएका थिए भने तीन खेलाडीले मात्र १ रन जोड्न सकेका थिए ।

मंगोलियालाई सस्तैमा समेट्न करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछानेले समान दुई तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान एक विकेट लिएका छन् ।

यसअघि मंगोलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा ३ सय १४ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले नकआउट १ सय ३७ रनको इनिङ्स खेले । उनले ५० बलमा ८ चौका र १२ छक्काको मदतले शानदार सतकीय पाली खेलेका हुन् । रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले समेत अर्धशतकीय इनिङ्स खेले ।

कप्तान पौडेलले २७ बलमा २ चौका र ६ छक्काको मदतले ६१ रन बनाउदा दिपेन्द्रले १० बलमै नटआउट अर्धशतक प्रहार गरे । दिपेन्द्रले जम्मा १० बल खेल्दै ८ छक्काको मदतले सो रन बनाएका हुन् ।

कुशल भुर्तेल १९ र आसिफ शेख १६ रनमा आउट भएका थिए ।

नेपालले टी ट्वान्टीमा सर्वाधिक रन बनाउनेदेखि ठुलो अन्तरको जित निकाल्ने कीर्तिमान बनाएको छ । साथै दिपेन्द्र सिंह ऐरीले ९ बलमै अर्धशतक बनाउने कीर्तिमान कायम गरेका छन् । कुशल मल्लले टी ट्वान्टी अन्तराष्ट्रियमा सबैभन्दा चाँडो शतक प्रहार गर्ने कीर्तिमान समेत आफ्नो नाममा लेखाएका छन् ।

नेपाल प्रतियोगिताको समूह एमा रहेको छ । नेपाल रहेको समूहमा मंगोलिया र माल्दिभ्स छन् । समूह विजेता टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछ । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश टेष्ट राष्ट्रको रुपमा सिधै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार १०:३२   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।