Logo

खेलकुद

आफ्नो नाम आफैँले सिफारिस गरेर चीन पुगे दुई संघका अध्यक्ष



काठमाडाैं । एसियाडमा आउने मोह सबैको हुन्छ । चीनको हाङझाउमा ४५ राष्ट्रका विभिन्न खेलका सयौँ पदाधिकारी छन् ।

विकसित देशले आधिकारिक अफिसियल मात्र हाङझाउमा पठाएका छन् । अविकसित र आर्थिक रूपमा कमजोर राष्ट्रका खेल संघका पदाधिकारीहरू भने आफ्नो नाम आफैँले सिफरिस गरी १९औँ एसियाडको मजा लिइरहेका छन् । यसको एउटा उदाहरण नेपाल पनि एक हो । पछिल्लो समय एसियाडमा असम्बन्धित खेलका पदाधिकारी एसियाडमा आएको चर्चा थियो । अहिले दुई संघका अध्यक्षले हाङझाउमा आउन आफ्नो नाम आफैँले सिफारिस गरेको खुलेको छ ।

यी दुवै पदाधिकारी निर्णायकको कोटामा एसियाड आएका हुन् । नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम र हकी संघका अध्यक्ष अनिलप्रसाद शर्मा निर्णायकका रूपमा आएका हुन् । यसपटक यी दुवै खेलले सहभागिता जनाएका छैनन् । तर पनि अध्यक्षद्वय आफूहरू निर्णायक बनेर आएको बताइएको छ ।

खेलको निर्णायक बन्न एसियाडको आयोजकले ओलम्पिक काउन्सिल एसिया (ओसिए) लाई जिम्मा दिएको छ । ओसिएले आफूसँग आबद्ध संघलाई नै अफिसियल छान्न अधिकार दिएको छ । हकी र बुद्धिचालका अध्यक्ष स्वयंले प्रतियोगितामा आफ्नो नाम सिफारिस गरेका हुन् । अहिले बुद्धिचालका अध्यक्ष गौतम नै कसरी चीन पुगेको भन्ने सम्बन्धमा यस खेलका पदाधिकारी नै अचम्ममा परेका छन् । हालै मात्र हेटौँडामा भएको निर्वाचनमा गौतम निर्वाचित भएका थिए ।

अध्यक्षज्यू कसरी एसियाडमा जानुभयो, त्यो अचम्मको विषय हो, अझ उहाँ आफ्नो नाम आफूले नै सिफारिस गरी जानुभएको रहेछ,’ संघका एक पदाधिकारीले भने, ‘यसबारेमा हामीलाई आधिकारिक रूपमा जानकारी नै छैन ।’ उनका अनुसार १९औँ एसियाडमा अन्य प्राविधिकलाई पठाउने तयारी थियो ।

प्रकाशित मिति : आश्विन १२, २०८० शुक्रबार  ७ : ४९ बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।