Logo

प्रमुख समाचार

कौसिद फिल्म हेरेपछि पैसाको महत्व थाहा हुन्छः भोलाराज सापकोटा



काठमाडौं । दशैँको अवसर पारेर धेरै फिल्महरु प्रदर्शनको तयारीमा रहेका छन् । अन्य प्रतिस्पर्धी फिल्महरुसँगै ‘कौसिद’ फिल्म पनि दशैँको अवसर पारेर हलहरुमा चल्दैछ ।

अहिले यो फिल्मका निर्मातादेखि कलाकारहरु फिल्मको प्रचारप्रसारमा व्यस्त रहेका छन् । फिल्ममा अभिनय गरेका कलाकार भोलाराज सापकोटा ‘कौसिद’ फिल्मले नेपाली समाजको यथार्थता दर्साएको बताउँछन् । भारतीय फिल्म ‘बर्फी’मा समेत अभिनय गरेका कलाकार सापकोटा नेपाली चलचित्रहरु कथाबस्तु राम्रो भए राम्रैसँग चल्ने बताउँछन् । दशैँ २६ गतेबाट हलहरुमा चल्ने फिल्म ‘कौसिद’ सामान्य नेपाली मध्यम बर्गीय परिवारको अर्थोपाजनसँग जोडिएको सापकोटा बताउँछन् । नेपाली समाजमा मध्यम बर्गीय परिवारहरुलाई सामान्य जीवन जीउन कत्तिको सजिलो र कत्तिको गाह्रो छ भन्ने विषयबस्तुले चलचित्र ‘कौसिद’ हेर्नैपर्ने खालको बनेको सापकोटाले बताए ।

कलाकार सापकोटाका अनुसार चलचित्र कौसिदमा श्रीमती र आफन्तको अनुरोधमा बैंकबाट ऋण लिएर घर निर्माण गरेपछि अचानक बढ्ने ब्याज दरले कस्तो संकट पार्छ भन्ने विषयले मध्यम बर्गीय परिवारको अवस्था फिल्मले देखाउने छ। उनले इमान्दार भएर सामना गर्नुपर्ने कठिनाइलाई चलचित्रमा देखाइएको बताए। चलचित्र कौसिदमा अप्ठ्यारो स्थितिमा पनि संयमता गुमाउनु हुँदैन भन्ने सन्देश रहेको सापकोटा बताउँछन्। ‘चलचित्रको विषयबस्तु हाम्रै समाजमा घटिरहने कथाबस्तु हुन्’, अभिनेता सापकोटाले भने।

मकवानपुरको हात्तीलेटमा सापकाेटाकाे बाल्यकाल बित्याे । बोल्न नसक्ने आमाबुबाका साथ हुर्किएका सापकोटा सानै उमेरदेखि नाटक खेल्थे । पढ्दा पढ्दै कक्षादेखि नै नाटक खेलेका सापकोटा काठमाडौं आएपछि नाटकघरमा अभिनय गर्न व्यस्त भए । भोलाले अशेष मल्लको ‘कुमारी’ नाटकमा अभिनय गर्ने मौका पाए। यो नाटक सुनिल पोख्रेलले निर्देशन गरेका थिए। एकेडेमीमा दुई दिन मञ्चन भएको यही नाटकबाट भोलाले थिएटरको औपचारिक यात्रा थालेका हुन्। त्यसयता उनले आजसम्म थुप्रै नाटकमा अभिनय गरे। विभिन्न नाटकहरुमा अभिनय गरेका सापकोटाले कागजपत्र, जात्रा, चाचा हुइँलगायत फिल्ममा अभिनय गरिसकेका छन् । उनले अभिनय गरेरै राम्रोसँग आफ्नो दैनिकी चलिरहेको बताए । दशैँको २६ गतेबाट हलहरुमा लाग्ने चलचित्र कौसिद हेरेर प्रतिक्रिया दिन उनले आग्रह गरेका छन् ।

कुमार भास्करले निर्देशन गरेको चलचित्रमा अभिनेता सापकोटासँगै ऋचा शर्मा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दिप लोहनी लगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार १३:५०   :  बजे

288
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।