काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा आधा दर्जन बढी विश्व कीर्तिमानहरू बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले बधाई दिएका छन् । अनेकौँ प्रतिकूलताका बाबजुद हासिल गरेको सफलताले नेपालको राष्ट्रिय गौरव बढाएको उनले बताएका छन् ।
‘मित्रराष्ट्र चाइनाको हाङ्झाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपालले मङ्गोलियासँग खेलेको टी–२० क्रिकेट खेलमा नेपाली क्रिकेट टिम र खेलाडीहरूले राखेको विश्व कीर्तिमानले हामीलाई अत्यन्तै खुसी तुल्याएको छ । देशको राष्ट्रिय पहिचानले अनेकौँ चुनौतीहरूको सामना गरिरहनु परेको समयमा क्रिकेट खेलाडीहरूले अनेकौँ प्रतिकुलताका बावजुद जुन सफलता हासिल गरेका छन् यसले नेपालको राष्ट्रिय गौरव बढाएको छ भन्ने हामीले महसुस गरेका छौँ । विश्व कीर्तिमानहरू कायम राख्न सफल भएकोमा सबै खेलाडी मित्रहरू र नेपाली क्रिकेट टिमलाई यो सफलताको लागि हार्दिक बढाई तथा शुभकामना ।’, शुभकामना सन्देशमा शाहले लेखेका छन् ।
पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध ३१४ रनको उच्च स्कोर र दुई सय ७३ रनको विशाल अन्तरको जित निकालेर विश्व कीर्तिमान बनाएको थियो । यसैगरी नेपाली ब्याट्सम्यान कुशल मल्लले मात्र ३४ बलमा अविजित एक सय ३७ रन बनाएर विश्व रेकर्ड बनाउँदा अर्का ब्याटर दिपेन्द्रसिंह ऐरीले मात्र ९ बलमै अर्धशतक प्रहार गरेर भारतीय ब्याट्सम्यान युवराज सिंहको रेकर्ड तोडेका थिए ।















प्रतिक्रिया