काठमाडौं । नेपाल चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनल पुगेको छ ।
जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा आइतबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपालले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
नेपालले अब क्वाटरफाइनलमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश र अफगानिस्तानमध्ये एक टिमसँग खेल्नेछ । यी पाँच टिम सीधै क्वाटरफाइनल पुगेका हुन् भने नेपालसँगै तीन टिम पहिलो चरण पार गरेर क्वाटरफाइनल पुग्नेछन् ।
नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमै अलआउट भयो ।
माल्दिभ्सको इनिङ्समा मुआवियाथ गनेलेले सर्वाधिक ३६ रन र रशिद रसमालेले अविजित १२ रन बनाए । फरिद शिस्लेले १० रन जोडे । माल्दिभ्सका ६ खेलाडी प्याभिलियन फर्किएका थिए ।
माल्दिभ्सलाई अलआउट गर्न नेपालका फास्ट बलर अभिनाश बोहराले सानदार बलिङ गर्दै ३.४ ओभरमा ११ रन मात्र खर्चेर ६ विकेट लिए ।सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए ।
पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१२ रन बनाएको थियो । इनिङ्समा कप्तान रोहित पौडेलले ५२ रन बनाए भने कुशल मल्लले ४७ रन बनाए । गुल्शन झा र कुशल भुर्तेलले समान ३५/३५ रन बनाए । आरिफ शेख ६ रन, सन्दीप लामिछानेले ५, दीपेन्द्र सिंह एरिले ६ रनमा आउट भए । सोमपाल एक रनमा अपराजित रहे ।
माल्दिभ्सका नजवान इस्माइलले सर्वाधिक ३ विकेट लिए । नासिर इस्माइल, मोहम्मद मिभान र थलाल रोयलले एक–एक विकेट लिए ।
नेपालले पहिलो खेलमा मंगोलियाविरुद्ध कीर्तिमानी जित निकालेको थियो भने अन्तिम खेलमा शानदार जित हात पार्दै समूह चरणको अन्तिम ८ मा प्रवेश गरेको थियो ।
प्रतिक्रिया