Logo

प्रमुख समाचार

वर्तमान सरकार इतिहासकै असफल, गलत नीतिले मुलुक अफ्ठ्यारोमा : केपी ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार इतिहासकै असफल सरकार भएको बताएका छन् ।

आज मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धनको सरकार लोकतन्त्र र संविधान कार्यान्वयनका निम्ति गम्भीर संकट भएको र इतिहासकै असफल सरकार भएको बताएका हुन् ।

वर्तमान सरकारले आफ्नो स्वार्थका लागि पटक–पटक संविधान मिच्ने काम गरेको आरोप लगाउँदै उनले सरकारले संसदलाई समेत आफ्नो स्वार्थमा चलाउन खोजिरहेको खुलासा गरे ।

संविधान दिवसमा गम्भीर प्रकृतिका अपराधीहरूलाई समेत आममाफी दिएकोप्रति आपत्ति जनाउँदै अध्यक्ष ओलीले राष्ट्रपतिलाई सेरेमोनियल नभई खोपीको देउता बनाएको र आदेश पालना गर्ने परिपालक राष्ट्रपति बनाएको धारणा व्यक्त गरे ।

अध्यक्ष ओलीले सरकारको सुशासन अभियान तस्कर र हत्यारा संरक्षणमा केन्द्रित रहेको जिकिर गरेका छन् । उनले निकै चर्कोसँग खोलिएको ललिता निवासको फाइल बन्द गर्न सरकारलाई पसिना आएको टिप्पणी गरे । यस्तै, सुन काण्डले पनि सरकारलाई हैरान पारेको भन्दै उनले प्रतिपक्षीलाई तर्साउनका लागि विभिन्न प्रकरण ल्याएको बताए ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियालाई टुङ्गो लगाउन खोज्दा माओवादीले नै रोकेको खुलासा समेत गरेका छन् । हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाउन मन्जुर नरहेको भन्दै उनले अगामी मन्त्रिपरिषद्को बैठकले यसलाई फिर्ता लिन माग गरे ।

न्यायालयमाथि पनि गठबन्धनले हस्तक्षेप गरेको जिकिर अध्यक्ष ओलीको छ । जिल्ला न्यायाधीशको परीक्षामा फेल भएका र निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने व्यक्तिलाई न्यायाधीश नियुक्त गरेको भन्दै सरकारबाट आशा गर्न लायक ठाँउ नै नरहेको उनले बताए ।

त्यस्तै, ओलीले मुलुक अप्ठेरो अवस्थामा रहेका बेला प्रधानमन्त्रीले अनावश्यक रुपमा भ्रमण लम्ब्याएको पनि बताएका छन् । सरकारको गलत नीतिकै कारण अहिले मुलुक अप्ठेरो अवस्थामा पुगेको र विकास र समृद्धिमा समेत बाधा पुगेको उनको भनाइ छ ।

प्रकाशित मिति : आश्विन १७, २०८० बुधबार  ८ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।