Logo

अर्थ

निगमले १०२ मा खरिद गरेकाे पेट्रोललाई उपभोक्ताले १ सय ८३ रुपैयाँ तिर्दै



काठमाडाैं । खाना पकाउने एलपी ग्याससहितका पेट्रोलियम पदार्थमा सरकारले मूल्य अभिवृद्धि कर भ्याटसहित सात किसिमका कर उठाउने गरेको छ ।

यसबाहेक नेपाल आयल निगमले नाफालगायतका थप सात शीर्षकमा रकम उठाउँछ । जसका कारण भारतबाट १०२ रुपैयाँ ७३ पैसा प्रतिलिटरमा खरिद गरिएको पेट्रोल उपभोक्ताले १८३ रुपैयाँ र प्रतिसिलिन्डर १४ सय ५८ रुपैयाँ ९४ पैसामा खरिद गरिएको ग्यासको १८ सय ९५ तिर्नुपर्छ ।

पेट्रोलियममा अहिले भ्याटबाहेक भन्सार तथा प्रज्ञापन शुल्क, पूर्वाधार कर, सडक मर्मत शुल्क, प्रदूषण शुल्क, फ्युल थ्रुपुट शुल्क र मूल्य स्थिरीकरण कोषका लागि कर उठाउने गरिएको छ । सातवटै करबापत उपभोक्ताले ग्यास प्रतिसिलिन्डरमा ३०९ रुपैयाँ ५७ पैसा, पेट्रोल प्रतिलिटरमा ६३ रुपैयाँ ६१ पैसा, डिजेलमा ४७ रुपैयाँ १६ पैसा, मट्टीतेलमा ३३ रुपैयाँ ६६ पैसा, आन्तरिक हवाई इन्धनमा १९ रुपैयाँ ६१ पैसा र बाह्य हवाई इन्धनमा एक रुपैयाँ ९५ पैसा तिनुपर्छ ।

प्रतिशतका आधारमा नभई ‘फ्ल्याट’मा करको दर तोकिएका कारण निगम सधैँ फाइदामा र उपभोक्ता सधैँ महँगीको मारमा परिरहेका छन् । करको हिस्सा उच्च हुँदा उपभोक्ता मूल्यमा असर पर्ने गरेको पछिल्लो वासलात विवरणले नै देखाउँछ । निगमले आइतबारदेखि इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोल १०२ रुपैयाँ ७३ पैसा प्रतिलिटरका दरले खरिद गर्न थालेको छ । यसमा विभिन्न सात प्रकारका कर जोडिएर ६३.६१ रुपैयाँ हुने गरेको छ । जसकारण भन्सार पास हुनासाथ पेट्रोलको मूल्य १६६ रुपैयाँ ३४ पुग्छ । त्यसपछि निगमले पनि नाफा राखेर बेच्छ ।

त्यस्तै, ११८ रुपैयाँ ४० पैसा प्रतिलिटरमा खरिद गरिएको डिजेलमा ४७.१६ रुपैयाँ र ११३ रुपैयाँ ४६ पैसा प्रतिलिटरमा खरिद गरिएको मट्टीतेलमा ३३.६६ रुपैयाँ कर लाग्ने गरेको छ । निगमले डिजेल र मट्टीतेल समान १७३ रुपैयाँ प्रतिलिटरका दरले बेचिरहेको छ ।

प्रत्येक घरको भान्सामा खपत हुने ग्यासमा समेत सरकारले उच्चदरमा प्रतिसिलिन्डर ३०९ रुपैयाँ ५७ पैसाका दरले कर असुल्ने गरेको छ । निगमले आइओसीबाट १४ सय ५८ रुपैयाँ ९४ पैसा प्रतिसिलिन्डरमा खरिद गरेको ग्यास उपभोक्ताले १८ सय ९५ मा किन्नुपर्छ ।

११३ रुपैयाँ ७५ पैसा प्रतिलिटरमा खरिद गरेको आन्तरिक हवाई इन्धनमा १९.६१ रुपैयाँ र सोही दरमा खरिद गरेको बाह्य हवाई इन्धनमा १.९५ रुपैयाँ प्रतिलिटरका दरले कर उठाउने गरिएको छ । निगमले आन्तरिक हवाई इन्धन १३६ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन १.०३६ डलर प्रतिकिलोलिटरमा बिक्री गर्छ ।

उपभोक्ताले तिरेको पेट्रोलियमको मूल्यको एकतिहाइ सरकारले राजस्वबापत लिँदै आएको छ । पछिल्ला दुई वर्षयता सरकारले पेट्रोलियममा वार्षिक एक खर्बभन्दा बढी कर उठाइरहेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार ०८:१७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।