काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसबिनाको सरकारको कल्पना गर्न नसकिने बताएका छन् ।
समाजवादी प्रेस संगठन मधेश प्रदेशले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली जनताको भावना, चाहानालाई बुझ्ने पार्टी एकीकृत समाजवादी नै भएको जिकिर गरे ।
‘को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने होइन, कहिले आउँछ भनेर ढुकेर बस्ने होइन । अहिले भएको सरकारलाई अघि बढाउने हो । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा यो सरकारलाई अघि बढाउने पक्षमा हुनुहुन्छ’, अध्यक्ष नेपालले भने, ‘हामी पनि यो सरकार अघि बढाउने पक्षमा छौं । कमजोर र असहयोग गर्ने पक्षमा छैनौं, कांग्रेस बिनाको सरकारको त कल्पनै गर्न सकिँदैन । अहिलेको संरचना जुन छ, शक्ति सन्तुलन छ, यो शक्ति सन्तुलनभित्र नेपाली कांग्रेस अपरिहार्य हुन्छ । हाम्रो पार्टीले त झन छोड्ने कुरै आउँदैन ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्न खोजिरहेको तर पर्याप्त नभएको नेता नेपालले बताए ।
‘उहाँले केही राम्रा काम पनि गर्न खोज्नुभएको छ । तर त्यो पर्याप्त भएन । त्यसको निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ’ उनले भने, ‘उहाँलाई दबाब पनि दिनुपर्छ । उहाँलाई उत्प्रेरित पनि गर्नुपर्छ । यसको निम्ति गठबन्धनको तर्फबाट हाम्रो पार्टी सहयोगी भूमिका निभाउन तयार छ ।’
उनले कोशीमा पनि पार्टीले गठबन्धन सरकारलाई असर पर्ने गरी अर्को गठबन्धन नबनाउने बताए ।




















प्रतिक्रिया