काठमाडौं । सरकारले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाही गर्ने स्पष्ट कानून नभएकोले अहिले निर्माण प्रक्रियामा रहेको बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्तासमेत रहेकी संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिलेसम्म कानून नभएर सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाही गर्न नसकेको बताइन् ।
‘कुनै कानूनमा टेकेर हामीले कारबाही गर्नसक्ने अवस्था छैन । सरकारले कानूनमै टेकेर काम गर्नुपर्ने भएकाले एकदमै तदारुकताका साथ कानून निर्माण गर्ने प्रक्रियामा छौं । त्यो निर्देशिका अहिले कानून मन्त्रालयमा छ । आउने क्याबिनेटबाट पारित भएर जान्छ । त्यसले केही व्यवस्थापन गर्नसक्छ । निर्देशिकामै हामीले धेरै दण्ड, सजायको कुरा गर्नसक्ने रहेनछौं’, उनले भनिन्, ‘प्रचलित कानूनबमोजिम हुने कारबाही त आफ्नो ठाउँमा छँदैछ ।’
सामाजिक सञ्जाललाई इंगित गरेर दण्ड सजाय निर्देशिकामा राख्न नसक्ने भएकाले यसबारे कानून नै बनाउने तयारी भइरहेको प्रवक्ता शर्माले बताइन् । सरकारले सामाजिक सञ्जालको दुरुपयोगको समस्या समाधान गरेरै छाड्ने उनले जिकिर गरिन् ।
प्रतिक्रिया