Logo

खेलकुद

भारोत्तोलनमा विशालको दुर्लभ कीर्तिमान



काठमाडौं । चीनको हान्झाउमा जारी एसियाडमा भारोत्तोलन खेलाडी विशालसिंह विष्टले दुर्लभ कीर्तिमान बनाएका छन् ।

चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमानसहित कुनै पनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि  बनाए ।

यसअघि कुनैपनि नेपाली भारोत्तोलकले कुनैपनि तौलसमूहमा जम्मामा ३ सय केजीसम्मको भार पनि वहन नगरेको भारोत्तोलन टिमका व्यवस्थापक समेत रहेका नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले बताएका छन् ।

विशालले स्न्याचमा १३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे । स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ केजी र कुलमा २९१ केजीको राष्ट्रिय कीर्तिमान विशालकै नाममा थियो ।

उनले उक्त कीर्तिमान केही साताअघि रियादमा भएको विश्व भारोत्तोलन च्याम्पियनसिपमा बनाएका थिए ।

प्रकाशित मिति : आश्विन १८, २०८० बिहीबार  २ : ०६ बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।