मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन् ।
सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएका एमाले नेता कार्कीले शनिवार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ।
संविधानको धारा १६८ को उपधारा (३) अनुसार भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त धाराको उपधारा (४) बमोजिम शनिबारसम्ममा विश्वासको मत लिनैपर्ने बाध्यात्मक अवस्था छ ।
त्यसपछि उनी मुख्यमन्त्री रहने वा नरहने भन्ने टुङ्गो लाग्ने छ । उनी प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका थिए ।
तर, कार्कीले विश्वासको मत पाउने आधार अहिलेसम्म देखिएको छैन। गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले नै अहिलेको सरकारलाई विश्वासको मत नदिने संकेत गरेका छन्। कार्कीलाई यसअघि मत दिएको राप्रपाले पनि योपटक विश्वासको मत नदिने बताएको छ।
अहिले प्रदेश सभामा एमालेसँग ३९ मात्रै सांसद (उपसभामुखबाहेक) छन्। कांग्रेसको २९, माओवादी केन्द्र को १३, राप्रपाको ६ एकीकृत समाजवादी ४ र जसपाका एक सांसद छन्।
यसअघिको कार्यकालमा एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ मत गरी मुख्यमन्त्री कार्कीले ४६ मत पाएका थिए। यसपटक उपसभामुखले मत हाल्न पाउने छैनन्। उनले प्रदेशसभा बैठक चलाउनु पर्ने छ।
त्यस्तै, ६ सांसद रहेको राप्रपाले एमालेको साथ छोडिसकेकाले उनले विश्वासको मत नपाउने निश्चितजस्तै छ ।
यस्तो अवस्थामा एमालेसँग ३९ मत मात्रै छ। मुख्यमन्त्री कार्कीले राजीनामा दिने सम्भावना छ।
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत नपाएमा वा राजीनामा दिएमा संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठन हुने छ । उपधारा (५) अनुसार, कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नसक्ने देखिएमा प्रदेश प्रमुखले उसैलाई मुख्यमन्त्री नियुक्त गर्न पाउँछ ।




















प्रतिक्रिया