काठमाडौ. । परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई इजरायलमा भएको घटनाबाट नेपाली समुदायमा भएको क्षतिबारे आज सदमा जानकारी गराएका छन् ।
संसद बैठकको सुरुमा प्रतिनिधिसभामा मन्त्री साउदले इजरायलमा रहेका नेपाली र उनीहरुको अवस्थाबारे सांसदहरुलाई जानकारी गराएका हुन् । उनका अनुसार इजरायलको अहिले द्वन्द्व भइरहेको ठाउँमा १७ जना नेपाली रहेको बताएका छन् । दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा हमास समूहद्वारा आक्रमण भएको परराष्ट्रमन्त्री साउदले जानकारी दिएका छन् ।
मन्त्री साउदले उक्त स्थानमा आक्रमणबाट दुईजना बच्न सफल भएको, तीनजना आक्रमणमा परि घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको साथै १२ जनाको अवस्था अज्ञात रहेको बताए। मन्त्री साउदका अनुसार १२ जनामध्ये कोही सम्पर्कमा नै नरहेको र कोही हताहत भएको हुनसक्ने जानकारी इजरायलमा रहेको नेपाली दूतावासले दिएको छ ।
इजरायलमा हिजो मात्रै हमास समूहले गाजा क्षेत्रमा रकेट आक्रमण गरेको थियो । गाजा क्षेत्रको आसपासमा पनि द्वन्द्व चर्किएको छ ।इजरायलमा चार हजार पाँच सय नेपाली नागरिकहरु कियर गिभरको रुपमा काम गर्न गरेको नेपाल सरकारले जानकारी दिएको छ । त्यसमध्ये २६५ जना इजरायल सकरकारको अनुदानमा पढ्न र काम गर्न ‘लर्न एण्ड अर्न’ प्रोग्रामअन्तर्गत विद्यार्थीहरु पढ्न गएका छन् । २६५ जनामध्ये कृषि विद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना
विद्यार्थीहरु पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत इजरायल गएका हुन् । सरकारले इजरायलमा भएका नेपालीको उद्धार तथा राहतका लागि परराष्ट्रमन्त्रीको संयोजकमा समिति समेत गठन भएको छ । समितिले इजरायमा भएका नेपालीहरुको अवस्था बुझ्ने र आवश्यक ठानेमा उद्धार गर्नेछ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलमाथि गरेको आक्रमणमा दुवै पक्षका सयौँ व्यक्तिको मृत्यु भएपछि ‘लामो र कठिन’ युद्ध हुने घाेषणा गरेका छन् ।
दशकौँ यताको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वमा इजरायलमाथि हमासले शनिबार व्यापक स्थल, हवाई र समुद्री आक्रमण सुरु गरेको छ । इजरायली सेनाका अनुसार हमासको आक्रमणमा २०० भन्दा बढी इजरायलीको मृत्यु भएको र एक हजारभन्दा बढी घाइते भएको बताएको थियो । तर त्याे संख्या अझै बढ्न सक्ने जनाइएकाे छ । हमासले सैनिक र सर्वसाधारणलाई बन्धक बनाएको पनि इजरायली सेनाले बताएको छ ।
यसैबीच, गाजाका अधिकारीहरूले तटीय इलाकामा इजरायलले गरेको प्रत्याक्रमणका कारण कम्तीमा २५६ प्यालेष्टिनीको मृत्यु भएको र करिब एक हजार ७८८ जना घाइते भएको बताएका छन् ।
लेबनानको शक्तिशाली इरान समर्थित ‘हिजबुल्लाह मुभमेन्ट’ले हमासले इजरायलविरूद्ध गरेको कारबाहीप्रति ‘ऐक्यबद्धता जनाउन’ विवादित सीमा क्षेत्रमा इजरायली चौकीमा ‘ठूलो सङ्ख्यामा तोपका गोला र निर्देशित क्षेप्यास्त्र’ प्रहार गरेको जनाइएको छ । इजरायली सेनाले यसअघि दक्षिणी लेबनानमा आक्रमणकारीको पहिचान नै नगरी गोली चलाएको बताइएको थियो ।
नेतन्याहूले एक्स (ट्वीटर) मा लेखेका छन्, “हामी लामो र कठिन युद्धमा लागेका छौं । हमासको अन्धाधुन्ध आक्रमणका कारण हामीमाथि युद्धको भार थोपरिएको छ । पहिलो चरण यस समयमा हाम्रो भूमिमा घुसपैठ गर्ने अधिकांश शत्रु सेनाको विनाशद्वारा समाप्त हुँदैछ ।
रातभर इजरायलले गाजा पट्टीमा हवाई आक्रमण गरेको थियो भने प्यालेस्टाइनी भूमिबाट इजरायली क्षेत्रमा रकेट प्रहार भएको थियो । गाजाको सीमापारिको स्डेरोट प्रहरी चौकीलगायत विभिन्न स्थानमा इजरायली सेना र हमासका सयौं लडाकूबीच आइतबार गोली हानाहान भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । प्रहरी र इजरायली सेनाको विशेष फौजले स्टेशनभित्र लुकेर बसेका १० जना सशस्त्र आतङ्ककारीलाई निष्प्रभावी पारेको प्रहरीले जनाएको छ ।
सन् १९७३ को अरब–इजरायल युद्ध सुरु भएको आधा शताब्दीपछि हमासले शनिबार गरेको रक्तपातपूर्ण हवाई, समुद्र र स्थलआक्रमणले इजरायल र विश्वलाई चकित एवं दुःखी तुल्याएको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपतकालीन बैठक आइतबारका लागि बोलाइरहँदा राष्ट्रपति जो बाइडेनले अमेरिकी सहयोगी (इजरायल)लाई ‘चट्टानी र अटूट’ समर्थन व्यक्त गर्दै ‘यस परिस्थितिमा फाइदा लिन इजरायलविरोधी अन्य कुनै पनि पक्षविरुद्ध’ चेतावनी दिएका छन् ।
इजरायली सेनाले रातभर आफ्नो सेना अझै पनि इजरायलका विभिन्न स्थानहरूमा गोली हानाहानमा संलग्न रहेको बताएको छ, ‘फलामको तरवारहरू’ नाम दिइएको एक प्रतिरोधात्मक आक्रमणमा सेनाको सञ्चित बललाई बोलाइएको थियो । हमासले यसअघि केही इजरायलीलाई बन्धक बनाइएको तस्बिर सार्वजनिक गरेको थियो भने सेनाका अर्का प्रवक्ता डेनियल हागारीले सैनिक र सर्वसाधारणको अपहरण भएको पुष्टि गरेका थिए ।
गाजाको पूर्वमा पर्ने बेरी र ओफाकिमका नेगेभ मरुभूमि समुदायमा पनि ‘गम्भीर बन्धकको अवस्था’ रहेको उल्लेख गर्दै उनले भने, “म अहिले नै उनीहरूका बारेमा तथ्याङ्क दिन सक्दिनँ ।”
यनेट इजरायली समाचार वेबसाइटका अनुसार ‘धेरै महिला, बालबालिका र वृद्धहरूसहित दर्जनौं इजरायली बन्दीहरूलाई गाजा पट्टीमा लगिएको विश्वास गरिएको छ’। नेतन्याहूका अनुसार युद्धका कारण इजरायलले गाजाको बिजुली, इन्धन र सामानको आपूर्ति बन्द गरेको छ ।
इस्लामिक समूहले स्थानीय समयअनुसार शनिबार बिहान ६ः३० बजे तेल अभिभ र जेरुसेलमसम्म हजारौं रकेट प्रहार गर्दै फलामको गुम्बज प्रतिरक्षा प्रणालीलाई छिचोल्दै इजरायली भवनहरूमा आक्रमण गरेको थियो ।
प्रतिक्रिया