कोशीमा सत्तारुढ गठबन्धनले नयाँ सरकारका लागि दावी प्रस्तुत गर्ने तयारी गरिरहँदा राप्रपा निर्णायक शक्तिका रूपमा देखिएको छ । गठबन्धनसँग एक मत अपुग रहेको अवस्थामा राप्रपाको समर्थन अनिवार्य हुन्छ । तर, राप्रपाले भने अहिलेसम्म आफ्नो अडान स्पष्ट गरिसकेको छैन ।
केही दिनअघि बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले कोशी सरकारबारे निर्णय लिने अधिकार अध्यक्ष लिङदेनलाई सुम्पिएको थियो । लिङदेनले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर छलफल गरेका थिए । उक्त छलफलमा प्रचण्डले सत्ता गठबन्धनलाई सघाउन आग्रह गरे तापनि लिङदेनले ठोस जवाफ दिएका छैनन् ।
प्रदेशसभामा ६ सीट रहेको राप्रपा अहिले कोशीमा आफ्नै नेतृत्वमा सरकार गठन गर्न सक्ने सम्भावनाको खोजी गरिरहेको छ । कांग्रेस-माओवादीले कोशीको सत्ता दिए केन्द्रमा पनि सहकार्य गर्न सकिने संकेत लिङ्देनले गरेका छन् । तर, कांग्रेस कोशी सरकारको नेतृत्व छाड्न तयार छैन ।
प्रतिक्रिया