Logo

अर्थ

लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी सुरु



काठमाडौं । बिहीबारदेखि राजधानीमा लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी, २०८० सुरु भएको छ । राष्ट्रिय सहकारी बैंकको आयोजनामा दुई दिन (असोज २५ र २६ गते) चल्ने लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी बिहीबारदेखि राजधानीको होटेल याक एण्ड यतिमा सुरु भएको हो ।

लेखा सुपरिवेक्षण समितिको गोष्ठी उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीमा समस्या आउन नदिनका लागि लेखापरीक्षकको भूमिका महत्त्वपूर्ण हुने बताए ।

सहकारीमा समस्या आउन नदिन र समस्या समाधानका लागि लेखापरीक्षण समितिको भूमिका महत्त्वपूर्ण हुने उनले बताए ।

आन्तरिक नियन्त्रण प्रणाली बलियो भए सहकारी संस्थामा समस्या नआउने भन्दै उनले समितिले आफ्नो सक्रियता बढाउनु पर्नेमा उनको जोड छ । उनले थपे आन्तरिक नियन्त्रण प्रणाली सुदृढ हुन सकेको छ, छैन भन्ने कुरा अहिलेको परिस्थितिले देखाएको छ ।

लेखा समितिले हरेक गतिविधिको नियमन गर्न सक्ने भन्दै उनले हरेक चार महिनामा संस्थाको आन्तरिक लेखा प्रणालीलाई लेखापरिक्षण गर्न सक्ने र सो अनुसार नभए आवाजसम्म उठाउन सक्ने बताए । आन्तरिक नियन्त्रण प्रणालीबाट सहकारी सञ्चालन हुन्छ भन्ने मान्यताले सहकारीहरू स्वनियमन र स्वअनुगमनमा छाडेको उनको भनाई छ ।

अधिकांश सहकारी संस्थाहरूको तरलता १० प्रतिशतभन्दा कम भएको र लगानी गरेको पुँजी समयमै फिर्ता नहुँदा तरलता व्यवस्थापनमा समस्या भएको दुवाडीले बताए । समग्र अर्थतन्त्रको अवस्था र त्यसको प्रभावलाई मूल्याङ्कन नगरी लगानी गर्दा सहकारीमा समस्या आएकाले त्यसतर्फ अब समितिले ध्यान दिन सुझाए । सदस्यको विश्वास जित्न नसकेसम्म जतिसुकै तालिम र गोष्ठी गरे पनि औचित्य नरहने समेत उनले प्रस्ट्याए ।

‘पदाधिकारीहरुले सहकारी सदस्यहरूप्रति वफाकारिता कायम गर्न नसक्दा अधिकांश सहकारीमा समस्या आएको हो, लेखा समितिले पनि तदारुकता देखाउन सकेनन्, सहकारीमा अहिले वातावरणीय समस्या जस्तो देखिएको हो, गलत सहकारीका कारण राम्रो सहकारी पनि समस्यामा परे, यो समस्या समाधानका लागि लेखा समितिले भूमिका खेल्न सक्नु पर्छ’ उनले थपे ।

सहकारी क्षेत्र सुधार कार्यदलले दिएका सुझावहरू कार्यान्वयन गर्न सकेमा सहकारीको समस्या समाधान हुने उनले धारणा राखे । ती सुझावहरूले सहकारीको सुधारको लागि ठुलो पहल गर्न सक्छ । उनले सहकारीकर्मीहरुले सदस्यहरूप्रति जिम्मेवार नबन्दा अहिलेको समस्या देखिएको बताए । सदस्यहरू पनि सहकारीप्रति वफाकारिता नबन्दा अहिलेको परिस्थिति सिर्जना भएको उनको भनाइ छ ।

कतिपय सहकारीका सञ्चालकहरूलाई नै आफू सञ्चालक भएको समेत जानकारी नहुने विषय पनि आफूसमक्ष गुनासो आएको जानकारी दिए । ‘अहिले म सहकारीको सञ्चालक होइन भनेर निवेदन दिनेको चाङ लाग्न थालेको छ, म कसरी सञ्चालक बनेँ, सहकारीबाट पहिले नै राजीनामा दिइसकेको हुँ भनेर निवेदन दिने गरेका छन् । यसरी सञ्चालकहरू समस्याबाट पन्छिन वा भाग्न मिल्छ ?’उनले प्रश्न गरे । यसरी सञ्चालकहरु समस्याबाट पन्छिन वा भाग्न नसक्ने बताए । बैंकका अध्यक्ष के.बी. उप्रेतीको अध्यक्षतामा सुरु भएको गोष्ठी भोलीसम्म चल्नेछ ।

प्रकाशित मिति : आश्विन २५, २०८० बिहीबार  १२ : ३० बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।