Logo

प्रमुख समाचार

कोशी किचलो : कांग्रेस संस्थाप इतरका शेखर–गगन नै विभाजित



काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्ने सन्दर्भमा नेपाली कांग्रेस संस्थापन इतर समूह विभाजित भएको छ । मुख्यमन्त्री माओवादीलाई छाड्ने सभापति शेरबहादुर देउवाको निर्णयसँगै संस्थापनइतरका शेखर पक्षले एमालेको साथ लिएर समानान्तर रुपमा दाबी पेस गर्दा गगन समूह विपक्षमा उभियो ।

हाल प्रदेशसभामा कांग्रेसका २९ सीटमध्ये शेखर–गगन समूहका १० जना सांसद छन् । एमालेको साथ पाएपछि अहिले शेखर कोइराला समूह केदार कार्कीले आफूसहित आफ्नो पक्षका ८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी पेस गरेका छन् । उपसभामुख बाहेक एमालेका ३९ सांसद रहेको एमालेले साथ दिँदा कोइराला पक्षका ८ जनाले कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन् ।

जसमा महामन्त्री गगन थापा पक्षका मानिने भोजपूर प्रदेश निर्वाचन क्षेत्र (२) बाट निर्वाचित सांसद विनोद वान्तवाको हस्ताक्षर छैन । भोजपुर कांग्रेसका जिल्ला सभापति समेत रहेका उनी महामन्त्री थापाका विश्वास पात्र हुन् । महामन्त्री थापा पार्टीको आधिकारिक निर्णयबिना केदार कार्कीलाई मुख्यमन्त्री बनाउन नहुने पक्ष रहेकोले वान्तवाले हस्ताक्षर गर्न नामानेको बुझिएको छ ।

यसबाहेक संस्थापनिइतर पक्षकै मोरङ २ (२) का सांसद गयानन्द मण्डलले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । यद्यपि उनीहरुको हस्ताक्षरबिना पनि एमालेले साथ दिएपछि ४७ सांसदको हस्ताक्षरसहित कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

कांग्रेसका ८ जना सांसदको दोहोरो नाम परेको छ । जसमा कांग्रेसका केदार कार्की, रामकुमार खत्री, शम्शेर राई, इन्दिरा थापा, लिलाकुमारी राई, गोविन्दा गिरी, मानबहादुर लिम्बु र सुनिताकुमारी गुरुङसहित ८ जनाले हस्ताक्षर गरेका छन् ।

८ सांसदको दोहोरो हस्ताक्षर भएपछि आङबो र कार्की दुवैको पक्षमा ४७/४७ सांसदको समर्थन देखिएको छ ।

प्रकाशित मिति : आश्विन २५, २०८० बिहीबार  ६ : २० बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।