Logo

खेलकुद

विश्वकप फुटबलको एसिया छनोट : नेपाललाई घरेलु मैदानमै लाओसले बराबरीमा रोक्यो



काठमाडौं । विश्वकप फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपालले लाओससँग बराबरी खेलेको छ । बिहीबार दशरथ रंगशालामा भएको पहिलो लेगको खेलमा नेपाललाई लाओसले १–१ गोलको बराबरीमा रोकेको हो ।

विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाउने लक्ष्य सहित मैदान उत्रिएको नेपालले पहिलो लेगमा अग्रता लिने अवसर गुमाएको छ । पाहुना टोली लाओसले खेलको ३३ औं मिनेटमा सुरुआती अग्रता बनाएको थियो । लाओसका लागि कप्तान बोनफाचन बौकोङ्गले नेपाली डिफेन्डरलाई बिट गर्दै खेलमा खाता खोलेका थिए ।

पहिलो हाफमा नेपाल १–० ले पछि परेको थियो । दोस्रो हाफमा नेपाल अन्जन विष्टको गोलमा खेलमा फर्किएको थियो । अन्जनले खेलको ४७ औं मिनेटमा कर्नर बललाई सदुपयोग गर्दै हेडमार्फत बराबरी गोल गरेका थिए ।

फिफा वरियतामा आफूभन्दा तल रहेको लाओसमाथि जितको लक्ष्य सहित नेपाल मैदान उत्रिएको थियो । तर लाओसले घरेलु टोली नेपाल समक्ष कडा चुनौती पस्कियो । दोस्रो हाफमा सुधारिएको प्रर्दशन गरेपनि नेपालले लाओसविरुद्ध जित निकाल्न भने सकेन ।

आज फरवार्ड अन्जन विष्टले अन्तर्राष्ट्रिय फुटबलमा १३ गोलको कीर्तिमान भने बराबरी गरेका छन् ।
उनले नेपालका लागि हरी खड्का र निराजन रायमाझीले अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक १३ गोलको कीर्तिमानलाई बराबरी गरेका हुन् ।

नेपालले दोस्रो लेग अब लाओसको घरेलु मैदानमा अक्टोबर १७ मा खेल्नेछ ।

प्रकाशित मिति : आश्विन २५, २०८० बिहीबार  ७ : ४९ बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।