Logo

कोशी प्रदेश

कोशीमा शेखर समूहको विद्रोहले कांग्रेसमा हलचल



काठमाडौं । राष्ट्रिय राजनीति, सत्तागठबन्धन र कांग्रेसको आन्तरिक शक्ति सन्तुलनमा हलचल आउने गरी कोशीमा सत्ता राजनीतिको कोर्स सुरु भएको छ। केन्द्रमा माओवादी नेतृत्वमा सरकार गठनका लागि सत्तागठबन्धनभित्र सहमति भए पनि एमालेको समर्थनमा कांग्रेसको डा। शेखर कोइराला समूहले मुख्यमन्त्रीमा दाबी गरेपछि कोशीको सत्ता राजनीतिमा नयाँ ट्विस्ट आएको हो ।

कोशी प्रदेश प्रमुख कार्यालयका शाखा अधिकृत रामकुमार श्रेष्ठका अनुसार मुख्यमन्त्रीका लागि दुई प्रदेश सभा सदस्यले हस्ताक्षरसहित दाबी पेस गरेका छन् । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेसका केदार कार्कीले आ–आफ्नै दाबीसहित मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । आङ्बो र कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम दाबी पेस गरेका हुन् ।

कोशीबाट एमालेले सत्तागठबन्धनभित्र अन्तर्विरोध र संकट पैदा गर्ने रणनीतिक कदम चालेको छ । अब प्रदेश प्रमुख परशुराम खापुङले सत्तागठबन्धनबाट दाबी गरेका माओवादी संसदीय दलका नेता आङ्बो वा एमालेको समर्थनमा डा। शेखर कोइराला समूहले अगाडि सारेका केदार कार्कीमध्ये कसलाई मुख्यमन्त्री नियुक्त गर्छन् भन्ने चासो बढेको छ । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न शुक्रबारसम्मको समय दिएका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमत पुर्‍याउन सक्ने आधार लिएर जाने प्रदेश सभाको जो–कोही सदस्य मुख्यमन्त्रीमा नियुक्त हुने व्यवस्था छ। यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत नपाए प्रदेश मध्यावधितिर जानेछ । प्रदेश प्रमुख खापुङले दिएको ६ दिनको समयसीमा सकिनु अघिल्लो दिन बिहीबार कोशीमा पाँचौँ सरकार गठनका लागि नाटकीय घटना क्रम देखिएका हुन् ।

आङ्बोलाई माओवादी, कांग्रेस, एकीकृत समाजवादी र जसपाको साथ रहँदा सबैभन्दा ठूलो दल एमाले कार्कीको पक्षमा उभिएको छ । प्रदेश प्रमुखले दिएको समयसीमाभन्दा एक दिनअगाडि केन्द्रमा सत्तागठबन्धनका दलहरू बसेर माओवादी नेतृत्वमा सरकार बनाउने निर्णय लिएका थिए । सोहीअनुसार आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । गठबन्धनमा ४७ सांसद छन् ।

अर्कोतर्फ कांग्रेसका आठ र एमालेका ३९ जना सांसदको हस्ताक्षर लिएर कार्कीले मुख्यमन्त्रीमा दाबी गरे। कांग्रेसका सांसदको हस्ताक्षर दुवैतिर प्रयोग भएको छ । एमालेका ४० सांसद रहे पनि उपसभामुखले हस्ताक्षर गरेकी छैनन् ।

कार्कीको पक्षमा हस्ताक्षर गर्ने कांग्रेसका डा। कोइराला पक्षका हुन् । प्रदेश प्रमुखसमक्ष पेस भएका दाबीमा कोइराला समूहका सांसद केदार कार्की, रामकुमार खत्री, शमशेर राई, इन्दिरा थापा, लीलाकुमारी राई, गोविन्द गिरी, मानबहादुर लिम्बू र सुनिताकुमारी गुरुङको हस्ताक्षर छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार ०९:३६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।