Logo

खेलकुद

आईसीसी विश्वकप : भारतलाई पाकिस्तानले दियाे १९२ रनकाे लक्ष्य



काठमडौं । आईसीसी एकदिवसीय विश्वकप विक्रकेट अन्तर्गत शनिबारको खेलमा पाकिस्तानले भारतलाई जितका लागि १ सय ९२ रनको मध्यम लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४२.२ ओभरमा १ सय ९१ रनमा अल आउट भयो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ५८ बलमा ७ चौकासहित सर्वाधिक ५० रन बनाए । मोहम्मद रिजवान ६९ बलमा ७ चौकासहित ४९ रनमा आउट भए । तेस्रो विकेटका लागि मोहम्मद रिजवान र बाबर आजमले १ सय ३ बलमा ८२ रनको महत्वपूर्ण साझेदारी गर्दै विशाल योगफलको सम्भावना देखाएका थिए । शिराजको ३०औं ओभरको चौथो बलमा बाबर बोल्ड आउट हुन पुगेका थिए ।

त्यसपछि नाटकीय रुपमा विकेट गुमाएपछि मध्यम योगफलमै पाकिस्तान रोकिएको हो । अन्तिम ८ विकेट पाकिस्तानले मात्रै ३६ रनमा गुमाएको थियो ।

मोहम्मद नवाज ४ र हसन अली १२ रनमा आउट भए । पाकिस्तानलाई ओपनर इमाम उल हक र अब्दूल्लाह शफिकले ८ ओभरमा ४१ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । श्रीलंकाविरुद्धका धतकधारी शफिक भारतविरुद्ध २४ बलमा ३ चौकासहित २० रनमा आउट भए । हक ३८ बलमा ६ चौकासहित ३६ रनमा आउट भए ।

भारतका कुलदीप यादवले १० ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । रविन्द्र जडेजाले ९.५ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । हार्दिक पान्ड्याले ६ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराजले ८ ओभरमा ५० रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले ७ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार १८:०१   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।