Logo

खेलकुद

एसीसी यू–१९ प्रिमियर कप : बहराइनविरुद्ध सहज जित निकाल्दै नेपाल सेमिफाइनल नजिक



काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपमा दोस्रो खेलमा बहराइन विरुद्ध शानदार जित निकाल्दै नेपाल सेमिफाइनल नजिक पुगेको छ । बायुमास क्रिकेट ओभलमा दोस्रो जित दर्ता गर्ने क्रममा कप्तान देव खनाल र अर्जुन कुमालले ६८ रनको अर्धशतकीय साझेदारी गरे ।

७८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाले ११.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । टपअडर आज चल्न सकेन । १० रनमा तीन विकेट गुमाएको अवस्थामा नेपालका लागि देव र अर्जुनले क्रिज सम्हालेका हुन् । अर्जुन र देव दुवै समान ३२/३२ रनमा अविजित रहे । बहराइनका लागि अनस ओबैड सैदले तीन विकेट लिए । उनले चार ओभरमा २६ रन खर्चिएका हुन् ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रनमा अलआउट भयो । बहराइनका लागि माहम्मद वसिल अब्दुल हकिमले सर्वाधिक ३४ रन बनाउँदै दुर्गेश गुप्ताबाट बोलड आउट भए । उनले ७७ बलमा एक चौका र दुई छक्का प्रहार गरेका हुन् । टपअडरका तीन ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाँच ब्याटर शून्यमै आउट भए ।

आजको खेलमा नेपालका लागि हिरो बनेका दीपेशले ९.५ ओभरमा ८ ओभर मेडन गराउँदै ४ रन मात्रै खर्चेर ६ विकेट लिए । दुर्गेशले भने ८ ओभर बलिङ गर्दै १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए ।  नेपालले पहिलो खेलमा इरानमाथि २७४ रनको फराकिलो जित निकालेको थियो ।

समूह ए मा रहेका नेपाल र साउदी दुवैले पहिलो खेलमा जित निकालेका छन् । पहिलो खेलमा फराकिलो जित निकालेको नेपाल हालसम्म समूहको शीर्ष स्थानमा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल साउदी अरेबीयासँग कात्तिक २ गते खेल्नेछ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आईतवार १२:२८   :  बजे

207
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।