काठमाडौं । नेपालले घरेलु मैदानमा सुरु भएकाे त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा यूएईविरुद्ध सहज जित निकालेकाे छ । कपतान राेहित पाैडेलकाे अर्धशतकमा यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
कप्तान पौडेलले ५१ रनमा अविजित रहे । यस्तै दीपेन्द्रसिंह ऐरीले पनि अविजित ३४ रन बनाए । आसिफ शेख २३, कुशल भुर्तेल १४ र कुशल मल्ल ११ रन जोडेर आउट भए ।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोड्यो । यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए ।
यस्तै अली नासिरले पनि ३२ रन जोडे । हमिद र नासिरबीच पाँचौं विकेटका लागि ५६ रनको साझेदारी भएको थियो । ५२ रनमा ४ विकेट गुमाएको अवस्थामा उनीहरुले अर्धशतकीय साझेदारी गरेका हुन् ।
नेपालका करन केसीले ३, गुल्सन झाले २ तथा अविनाश बोहरा र सोमपाल कामीले समान एकएक विकेट हात पारे । करनले चार ओभरमा केवल १९ रन खर्चिए ।
विश्वकप छनोटको तयारीका लागि नेपालले यो प्रतियोगिता आयोजना गरेको हो । नेपालले हङकङसँग पनि प्रतिस्पर्धा गर्नेछ ।




















प्रतिक्रिया