काठमाडौं । जापानमाथि फराकिलो जित निकाल्दै नेपालले यू–१९ एसिया कपमा स्थान बनाएको छ । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा जापानमाथि १४४ रनको फराकिलो जितसहित फाइनलमा पुग्नुका साथै यू–१९ एसिया कपमा स्थान सरक्षित गरेकाे हाे ।
टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १४० रन जोडेको थियो । ओपनर दिपक बोहराले ७० बलमा ७९ रन जोडेर आउट भए भने क्रिजमा आकाश त्रिपाठी र कप्तान देव खनाल खेलिरहेका थिए ।
तर २५ ओभरपछि वर्षाका कारण खेल लामो समय रोकियो । त्यसपछि नेपालले ब्याटिङमा फर्कन पाएन । जापानलाई जितका लागि २२ ओभरमा १८७ रनको परिमार्जित लक्ष्य दिइयो । तर, नेपालको धारिलो ब्याटिङसामू जापानका ब्याट्सम्यानहरु टिक्न सकेनन् ।
जापानविरुद्ध पनि स्पिनर दिपेश कँडेलले उत्कृष्ट प्रदर्शन गरे । उनले ३ ओभर बलिङ गर्दा १३ रन खर्चेर तीन विकेट लिए । हेमन्त धामीले पनि तीन ओभरमा ८ रन खर्चेर तीन विकेट लिएका थिए ।
नेपालले अब यूएईसँग फाइनल खेल्ने छ । नेपालको यू–१९ टिम विश्वकपमा समेत छनोट भइसकेको छ ।




















प्रतिक्रिया