Logo

खेलकुद

यूएईविरुद्ध नेपालको रोमाञ्चक जित



काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० आई शृङ्खलाअन्तर्गत साेमबार भएकाे खेलमा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो ।

आजको खेलमा आशिफबाहेक पहिलो क्रमका ब्याट्सम्यान भने चलेनन् । जवाफी ब्याटिङमा नेपालले निकै खराब सुरुवात गर्यो । ११ रनमा ३ विकेट गुमाउँदा नेपालले आज प्रतियोगितामा पहिलो हार बेहाेर्ने चिन्ता समर्थकहरूमा थियो ।

तर ओपनर आसिफ शेख, कप्तान रोहित पौडेल र फिनिसर दिपेन्द्र सिंह ऐरीले नेपाललाई राेमाञ्चक जित दिलाएका हुन् । नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रनको योगदान गरे । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १५ बलमै एक छक्का र ६ चौका प्रहार गर्दै ४० रनमा अविजित रहे ।

त्यसबाहेक नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर कुशल भुर्तेलले दुई बलमा १ रन तथा सोमपाल कामीले ४ बलमा २ रन बनाए । कुशल मल्ल शून्यमै रनआउट भए । गुलसन झा एक रनमा अविजित रहे ।

यूएईका मोहम्मद जवादुल्लाहले २७ रन खर्चेर दुई विकेट लिए । अकिफ रजाले २८ रन खर्चेर एक तथा जाहूर खानले ३५ रन खर्चेर एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको यूएईका लागि वृत्या अरविन्द र बसिल हमीदले समान ४५/४५ रन बनाए । वृत्याले ५१ बलमा ४ चौकाको मद्दतमा तथा बसीलले १९ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे ।

यसैगरी खासिफ खानले १८, खलिद शाहले १२, अलि नासीरले ९, मुहम्मद वाजीम र लिलांश केश्वानीले ८/८ तथा आक्रिफ रजाले ५ बन बनाए ।

नेपालका लागि सोमपाल कामी र अविनाश बोहराले समान दुई/दुई विकेट लिए । करण केसी र गुलसन झाको नाममा एक/एक विकेट रह्यो ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार १४:४२   :  बजे

378
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।