काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप–२०२३ मा आइतबार घरेलु टोली भारत र साबिक विजेता राष्ट्र इङ्गल्याण्ड भिड्दैछन् । खेल लखनउस्थित एकाना क्रिकेट स्टेडियममा नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।
जारी विश्वकपमा हालसम्म आफूले खेलेको पाँचवटै खेलमा भारत विजयी भएको छ । यसका विपरीत अत्यन्तै निराशाजनक प्रदर्शन गरेको साबिक विजेता इङ्गल्यान्डले भने आफूले खेलेका पाँचमध्ये चार खेलमा हार भोगेको छ ।
भारत १० अंकसहित तालिकाको पहिलो र इङ्गल्याण्ड दुई अंकसहित तालिकाको सबैभन्दा तल (१०औँ स्थानमा) आसीन छ । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने इङ्गल्याण्डकाे सम्भावना अब प्राविधिक रूपमा मात्र बाँकी छ । जारी विश्वकपमा हालसम्म भारत एक मात्र अपराजित राष्ट्र हो ।
हालसम्म इङ्गल्याण्ड र भारतबिच एक सय ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ । त्यसमध्ये ५७ खेलमा भारत र ४४ खेलमा इङ्गल्याण्डले बाजी मारेकाे छ । यी दुई राष्ट्रबीचको तीन खेल अनिर्णीत रूपमा र दुई खेल बराबरीमा सकिएका छन् ।
आईसीसी एकदिवसीय विश्वकपमा भने हालसम्म भारत र इङ्गल्याण्डबीच आठवटा खेल खेलिएको छ । त्यसमध्ये चार खेलमा इङ्गल्याण्ड र तीन खेलमा भारत विजयी भएका छन् । विश्वकपमा यी दुई राष्ट्रबीचको एक खेल भने बराबरीमा सकिएको छ । आईसीसी एकदिवसीय विश्वकपकाे विगतलाई मात्र हेर्दा आज इंग्ल्याण्डले लयमा रहेकाे भारतलाई कडा टक्कर दिने सम्भावना देखिन्छ । तर जारी विश्वकपमा इंग्ल्याण्डकाे प्रदर्शन निराशाजनक छ ।




















प्रतिक्रिया