काठमाडौं । स्पीनर सन्दीप लामिछानेको पुनरागमनसँगै प्रदर्शन राम्रो हुनेमा राष्ट्रिय क्रिकेट टाेली विश्वास्त देखिएको छ । स्पीनर सन्दीपको पुनरागमनसँगै टिम ब्यालेन्स भएको भन्दै कप्तान रोहितकुमार पौडेलले सोमबार (भोलि)देखि घरेलु मैदानमा सुरु हुने टी–२० विश्वकपमको एसिया छनोटमा टीमको प्रदर्शन राम्रो हुने आशा व्यक्त गरे ।
नेपालले आफ्नो पहिलो खेल सोमबार टियु क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरविरुद्ध खेल्ने छ । खेलको अघिल्लो दिन कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक मोन्टी देसाईले सन्दीप खेलका लागि तयार रहेको बताए । देसाईले भने, ‘सन्दीपलाई अलिकति ब्रेक चाहिएको थियो । अब ऊ नयाँ इनर्जीका साथ ड्रेसिङ रूममा फर्किएको छ । उसको उपस्थितिले धेरै फरक पर्नेछ ।’
कप्तान पौडेलले पनि सन्दीप आएपछि टीममा ब्यालेन्स भएको बताए । उनले भने ‘स्याण्डी दाइ आएपछि टिम एकदमै ब्यालेन्स भएको छ, बलिङ स्ट्रोङ भएको छ । उहाँ अनुभवी र राम्रो बलर हुनुहुन्छ । उहाँको उपस्थिति महत्वपूर्ण छ ।’ कन्डिसन हेरेर सन्दीपलाई कसको स्थानमा खेलाउने भन्ने निर्णय हुने उनको भनाइ छ ।
यसअिघ विश्वकप छनोटको तयारीस्वरुप नेपालमै आयोजना भएको त्रिकोणात्मक सिरिज सन्दीपले खेलेका थिएनन् । नाबालिक बलात्मकार आरोपमा मुद्दा खेपिरहेका उनले सिरिज अघि राष्ट्रिय टीमबाट आफ्नो नाम फिर्ता लिएका थिए । बिचमा घरपरिवारसँग समय बिताएका उनी विश्वकप छनोट खेल्न तयार भएका हुन् ।
तुलनात्मक रुपमा बलिङ कमजोर भएकै कारण शुक्रबार भएको त्रिकोणात्मक सिरिजको उपाधि नेपालले जित्न सकेन । लिग चरणमा यूएईविरुद्धको दुई तथा हङकङविरुद्धको दुई गरी चार वटै खेलमा शानदार जित निकाले पनि फाइनलमा ब्याटिङसँगै बलिङ कमजोर हुँदा नेपालले हार बेहोरेको थियो भने यूएईले सिरिजको उपाधि जितेको थियो ।




















प्रतिक्रिया