काठमाडाैं । हङकङले आइसीसी टि–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा कुवेतलाई १६७ रनको लक्ष्य दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६६ रन बनायो ।
हङकङका ओपनर मार्टिन कोट्जीले ४८ बलमा १४ चौका र १ छक्कासहित सर्वाधिक ८१ रनको योगदान दिए । तीव्र गतिका बलर सैद मुनिबको बलमा उनी एज लागेर उस्मानघानी इब्राहिमबाट क्याच आउट भएका थिए ।
पहिलो विकेटका लागि कोट्जी र निजाकत खानले ११.१ ओभरमा १ सय १ रनको शतकीय साझेदारी गरेका थिए । तर निजाकत खान २४ बलमा २ चौकासहित २५ रनमा क्याच आउट भएपछि रनको गतीमा ब्रेक लागेको थियो । मार्टिन बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । त्यसैको कारण विशाल योगफलमा पुग्न सकेको थिएन ।
बाबर आजम २७ बलमा १ चौका र २ छक्कासहित ३१ रनमा आउट भए । अंशुमन रथ ९ र यासिम मुर्तजा ५ रनमा आउट भए । कुवेतका सदै मुनिबले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । मोहम्मद अस्लाम, शिराज खान र मोहम्मद मनाकाडावथले एक/एक विकेट लिए ।




















प्रतिक्रिया