Logo

खेलकुद

ओमनसँग हार्‍याे नेपाल, समूह उपविजेताका रुपमा सेमिफाइनल खेल्ने



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल ओमनसँग हारेको छ । टियु क्रकेट मैदानमा १४६ रनको लक्ष्य पछ्याएको नेपाल पूरै ओभरमा सबै विकेट गुमाउँदै ५ रनले पराजित भएको हो ।

नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ रन बनाए । उनले २४ बलमा पाँच छक्काको मदतमा उक्त योगफल तयार पारेका हुन् । यस्तै ओपनर कुशल भुर्तेलले १८ बलमा ३ छक्का र एक चौकाको मद्दतमा २६, करण केसीले ११ बलमा एक चौका तथा एक छक्काको मद्दतमा १५ रन बनाए ।

रोहित पौडेल, सोमपाल कामी र सन्दीप जोराले समान १२ रन बनाउँदा कुशल मल्ल १०, आसिफ शेख ५, गुल्सन झा तीन, सन्दीप लामिछानले दुई तथा अविनाश बोहरा एक रनमा अविजित रहे ।

ओमनका बिलाल खानले तीन, शाकील अहम्मद, मेह्रान खान र अकिब इल्यासले दुई÷दुई तथा जिशन मक्सूदले एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको ओमनका लागि जिशन मक्सूदले सर्वाधिक ३२ रन बनाए । कश्याप प्रजापति ८, प्रतिक अथवालेले २४, अकिब इल्यासले २, आयान खानले १८, नसीम खुशीले २५ तथा शाकील अह्मीद २२ रनमा अविजित रहे भने कलीमुल्लाहले ५ रन जोडे । नेपालका करण केसीले तीन विकेट लिए ।

सोमपाल कामी, सन्दीप लामिछाने समान दुई विकेट लिए भने गुलसन झा र अविनाश बोहराले एक/एक विकेट लिए ।

याे हारसँगै नेपाल समूह ए काे उपविजेतामा सीमित बनेकाे छ । ओमनसँग हारेपनि नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । समूह उपविजेताका रुपमा अब नेपालले समूह बीको विजेतासँग सेमफिाइनल खेल्नेछ । सेमिफाइनलमा जित निकाल्न सकेमा नेपाल फाइनलमा पुग्नुका साथै विश्वकपमा छनाेट हुनेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १२:३२   :  बजे

702
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।