Logo

खेलकुद

सुपरओभरमा ओमानसँग हार्‍याे नेपाल



काठमाडौं । टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपरओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

सुपर ओभरमा नेपालबाट ब्याटिङ गर्न कुशल भुर्तेल र गुलशन झा आएका थिए । ओमानका बिलाल खानले बलिङ गरेका थिए । बिलाल खानले पहिलो बलमा कुशल भुर्तेललाई पहिलो बलमै क्याच आउट गरेका थिए ।

त्यसपछि कुशल मल्ल ब्याटिङमा आएका थिए । दोस्रो बल कुशललाई योर्करमा डट राखे । तेस्रो बलमा एक रन लिएका थिए । चौथो बलमा गुलशनलाई एक रन दिएपछि नेपालको जितको सम्भावना समाप्त भएको थियो । पाँचौं बलमा कुशल मल्लले चौका हाने । अन्तिम बलमा चौका लिएपनि जितको लागि पर्याप्त भएन ।

सुपर ओभरमा नेपालका अभिनाश बोहराले २१ रन दिएका थिए । ओमानका अकिब इल्यास र मोहम्मद नदिम ब्याटिङमा आएका थिए । अभिनाशले पहिलो बल अकिबलाई एक रन दिएका थिए । दोस्रो बलमा नदिमले डिप मिडविकेटमा छक्का हाने । तेस्रो बल उनले डट राखेका थिए ।

चौथो बलमा नदिमले पुन डीप स्क्यायर लेगमा छक्का हाने । पाँचौं बल वाइड फाले । सुरुवाती चार बलमा १४ रन जोडेको थियो । पाँचौं बलमा नदिमले काउकर्नरमा छक्का हाने । पाँच बलमा २० रन बटुलेको थियो । अन्तिम बलमा एक रन जोडेपछि सुपर ओभरमा २१ रन बनाएको थियो ।

त्यसअघि जितको लागि १ सय ८५ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । त्यसपछि खेल सुपर ओभरमा पुगेको थियो ।

ओमनका कश्यप प्रजापतिले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले । उनले ५२ बलमा तीन चौका र चार छक्काको मद्दतमा उक्त योगफल तयार पारेका हुन् । यसैगरी अकिब इल्यासले १९ बलमा दुई चौका र तीन छक्काको मद्दतमा ३३ रन, जीशन मक्सूदले १८ बलमा दुई चौका र एक छक्कासहित २६ रन मोहम्मद नदीम ९ बलमा पाँच चौकाको मद्दतमा २४ रन बनाउँदै अविजित रहे । आयान खानले ८ बलमा एक छक्काको मद्दतमा १० रन जोड्दा मेह्रान खानले पनि १० रन नै बनाए । प्रतिक अथवाले ७ तथा नशीम खुशीले एक रन जोडे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले समान दुई रन बनाए । सोमपाल कामी, गुलसन झा, अविनाश बोहरा र विवेक यादवले समान एक/एक विकेट लिए ।

त्यअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेल्दै ६ विकेको क्षतिमा १८४ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेल र गुलसन झाले अर्धशत प्रहार गरे । खराब सुरुवात गरेको नेपाललाई रोहित र गुलसनले नै खेलमा फर्काएका थिए । रोहित ३७ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ५२ रनमा अविजित रहे । यस्तै गुलसनले २५ बलमा पाँच चौका र चार छक्काको मद्दतमा ५४ रन जोडे ।

यसैगरी कुशल भुर्तेलले २२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३१ रन बताए । करण केसीले ६ बलमा एक चोका दुई छक्कामो मद्दतमा २० रन जोडेर अविजित रहे । यस्तै सन्दिप जोराले १०, आसिफ शेख ६, कुशल मल्ल ३ तथा विवेक यादव १ रनको पारि खेले ।

बलिङतर्फ बिलाल खानले तीन विकेट लिए । यस्तै अकिब इल्यासले दुई तथा जीशन मक्सूदले एक विकेट लिए ।

नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानसँग भने नेपाल ५ रनले पराजित भएको थियो । नेपालले सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै २०१४ पछि पहिलो पटक टी–२० विश्वकपमा स्थान बनाएको थियो ।

उता ओमानले समूह चरणमा सबै खेल जितेको थियो । सेमिफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । ओमानले २०१६, २०२१ र २०२४ मा गरि तेस्रो पटक विश्वकपमा स्थान बनाएको हो ।

आज समूह चरणमा भएकाे हारकाे बद्ला लिने अवसर नेपाललाई भएपनि सुपरओभरमा चुक्दा ओमनले विश्वकप छनाेटकाे उपाधि उचाल्याे । फाइनलमा नेपालका स्टार अलराउण्डर दीपेन्द्रसिंह ऐरी टीममा थिएनन् । उनी विश्वकप छनाेट सुरु हुने दिन नै अभ्यासका क्रममा चाेटग्रस्त भएका थिए । त्यसयता उनी रेस्टमा छन् । तर शुक्रबार यूएईविरुद्धकाे सेमिफाइनल भने उनले खेलेका थिए ।

आईसीसी टी–२० वरियतामा नेपाल ओमनभन्दा तीन स्थान अघि छ । तर विश्वकप छनाेटमा भएकाे दुईवटै भेटमा नेपालले आफूभन्दा पछाडि रहेकाे ओमनसँग हार बेहाेरेकाे हाे ।

आईसीसी टी–२० वरियतामा नेपाल १५‍औं स्थानमा छ भने ओमन १८‌औंमा छ । यूएईलाई हराउँदै विश्वकपमा स्थान बनाएसँगै नेपालकाे वरितामा सुधार भएकाे हाे । त्यसअघि नेपाल १६औं स्थानमा थियाे ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १४:४१   :  बजे

345
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।