काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्न नेपाली राष्ट्रिय पुरुष फुटबल आज युएई प्रस्थान गर्दैछ ।
नेपाली टोली आज दिउँसो ३ बजे युएई प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपालले युएईसँग यही कात्तिक ३० गते दुबईमा खेल्दैछ । त्यसपछि नेपालले आगामी मङ्सिर ५ गते दशरथ रङ्गशालामा यमनसँग खेल्नेछ ।
विश्वकप एसिया छनोटको दोस्रो चरणको समूह ‘एच’ मा रहेको नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् । त्यस्तै विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओसलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको थियो ।
यूएई प्रस्थान गरेको टोलीमा गोलरक्षकको भूमिकामा किरणकुमार लिम्बु, दीप कार्की र अभिषेक बराल रहेका छन् ।
डिफेन्डरमा सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगेश गुरुङ छन् । मिडफिल्डरमा कृतिशरत्न छुन्जु, मनिष डाँगी, लाकेन लिम्बु, उत्सव राई, सेहाङ आङ्देम्बे र निशान हमाल रहेका छन् ।
यसैगरी स्ट्राइकरमा अन्जन विष्ट, आयुष घलान, गिलेस्पीजंग कार्की, हिसुब थपलिया, संजीव विष्ट र राजेश परियार रहेका छन् ।
प्रतिक्रिया