काठमाडौं । हङकङमा सुरु भएको ४ राष्ट्र सम्मिलित महिला टि२० आई सिरिजमा बुधबार पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ ।
१ सय १६ रनको लक्ष्य पछएको नेपालले सिता राना मगरको आक्रमण ४३ रनका बावजुद २७ रनले पराजित भएको छ । नेपाल १६.५ ओभरमा सबै विकेट गुमाएर ८८ रनमा समेटिएको थियो । टस जितेर ब्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । सिताले नवौं विकेटका लागि डेब्यू गरेकी इश्वरी विष्टसँग ३२ रनको साझेदारी गरेपनि नेपालको हार टरेन । सिताले ३१ बलमा ४ छक्का प्रहार गरेकी थिइन् ।
कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १५ रन बनाइन् भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । विन्दु रावल, सम्झना खड्का, पूर्व कप्तान रुविना क्षेत्री, खुसी डंगोलले खाता खोल्न सकेनन् । काजल श्रेष्ठले ९, संगिता राईले ४, इश्वरी र ओपनर पूजा महतोले समान ३ र अस्मिना कर्माचार्यले २ रन बनाइन् ।
तान्जानियाका लागि सोफिया जोरेमीले सिताको सहित ३ विकेट लिइन् । निमा पिइसले २ तथा प्रिसी जाकायो, एमवालाभुवा उसान्गा र इशा मोहमदले समान १ विकेट लिए । त्यसअघि हुड्डा ओमरीले २५ र इशाले २१ रन बनाएकी थिइन् । नेपालका संगिता राईले २, पुजा, रुविना र इन्दुले समान १ विकेट लिएका थिए ।
प्रतिक्रिया