Logo

खेलकुद

विश्व कप क्रिकेट सेमिफाइनल – न्युजिल्यान्डविरुद्ध भारतको उत्कृष्ट ब्याटिङ



एजेन्सी – भारतमा जारी ओडिआई विश्व कप क्रिकेटको पहिलो सेमिफाइनल आज (बुधबार) आयोजक र न्युजिल्यान्ड टोली खेलिरहेका छन् । वाङखडे क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार दिउँसो २ः१५ देखि सुरु भएकाे खेलमा भारतले ब्याटिङ गरिररहेकाे छ ।

अघिल्लो विश्व कपको सेमिफाइनलमा पनि यि दुई टोलीको भेट भएको थियो । त्यति बेला न्युजिल्यान्ड विजयी भएको थियो । घरेलु मैदानमा शानदार प्रदर्शन गरिरहेको भारत यसपटक फाइनल पुग्ने मौका गुमाउने पक्षमा छैन । सन् २०११ मा भारतले घरेलु मैदानमै पछिल्लो पटक विश्व कप जितेको थियो ।

त्यसपछिका दुई संस्करणमा भारत सेमिफाइनलबाट अघि बढ्न सकेन ।अर्कोतर्फ लिगमा भारतसँग हार बेहोरेपनि न्युजिल्यान्ड आइसिसी प्रतियोगिताको नकआउट चरणको खेलमा भारतमाथिको दबदबालाई निरन्तरता दिने पक्षमा छ । अघिल्लो विश्वकपको सेमिफाइनल होस् वा सन २०२१ मा भएको आइसिसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल, न्युजिल्यान्डले भारतलाई हराएको थियो ।

लगातार दोस्रो पटक भारत लिग चरणको अंक तालिकाको शीर्षस्थानमा रहँदै अन्तिम चारमा प्रवेश गरेको हो । न्युजिल्यान्ड भने दक्षिण अफ्रिका र अष्ट्रेलियापछि चौथो स्थानमा रहँदै सेमिफाइनल पुगेको थियो । भारतका कप्तान रोहित शर्माले न्युजिल्यान्डलाई अनुशासित टोलीका रुपमा व्यख्या गरेका छन् । न्युजिल्यान्ड निकै चनाखो तरिकाले क्रिकेट खेल्छ ।

‘उनीहरुका केही खेलाडीले राम्रो खेलिरहेका छन्, हिजोको पत्रकार सम्मेलनमा भारतीय टोलीका कप्तान रोहित शर्माले भनेका थिए, ‘हाम्रो टोलीले पनि राम्रो गरिरहेको छ । उनीहरु हम्रो मानसिकताका बारेमा राम्रो जानकार छन् । हामीलाई पनि उनीहरुको खेल थाहा छ ।’

न्युजिल्यान्डका कप्तान केन विलियम्सनले दुवै टोलीलाई सेमिफाइनल जित्ने उत्तिकै अवसर रहेको बताएका छन् । ‘हामीले आफ्नो क्षमता अनुसार खेल्यौं भने नतिजा आफ्नो पक्षमा पार्न सकिन्छ,’ उनले भनेका छन्, ‘घरेलु मैदानमा भारतलाई दर्शकको पूरा समर्थन रहने छ । दबाबमा आफूहरुले कसरी खेल्नुपर्छ भन्ने पनि थाहा छ ।’ लिगमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले हराएको थियो । जारी विश्व कपमा भारतमात्रै अपराजित टोली हो ।

वानखडे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले सुरुवाती २३ ओभरमा १ विकेट गुमाउँदै १६६ रन बनाएको छ । शुभमन गिल ६५ बलमा ८ चौका ३ छक्कासहित ७९ रन जाेडेर घाइते हुँदै खेलबाट बाहिरिएका छन् र बिराट कोहली ४३ ३ चाैकासहित ३६ रनमा नट आउट छन् ।सुभमन गिलकाे ठाउँमा श्रेयस अय्यर मैदानमा छन् । भारतका कप्तान रोहित शर्मा २९ बलमा ४ चौका र ४ छक्कासहित ४७ रनमा आउट भए ।

टिम साउथीको नवौं ओभरको दोस्रो बलमा ठुलो शर्ट खेल्ने धुनमा रोहित शर्मा केन विलियम्सनबाट लङअफमा क्याच आउट भए । केनले हाइको बल उत्कृष्ट क्याच लिएका थिए । पहिलो विकेटका लगि रोहित र गिलले ९.२ ओभरमा ७१ रनको साझेदारी गरेका थिए। दुबै टोलीले आजको खेलमा परिवर्तन गरेका छैनन् ।

प्रकाशित मिति : कार्तिक २९, २०८० बुधबार  ४ : ०७ बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।