Logo

प्रमुख समाचार

स्वास्थ्य मन्त्री बस्नेतलाई पदमुक्त गर्न डा. केसीको माग



काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् ।

उनले आइतबार विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भएको आरोप लगाएका छन् र पदमा बसिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप भएको भन्दै तत्काल पदमुक्त गर्न माग गरेका हुन् ।

‘मापदण्ड नपुगेका र विगतमा ऐन विपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐन विपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानुनी र खेदपूर्ण कार्य हो’ डा. केसीले भनेका छन्, ‘यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्डजीका स्वास्थ्यमन्त्री माफियाहरुका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप हो ।  निजलाई तत्काल पदमुक्त गरियोस् ।’

सरकारी निकायको टोलीले स्थलगत अनुगमन गरेर भारततिर कुनै नयाँ नर्सिङ कलेज स्थापना नभएको प्रतिवेदन दिएको पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘पद सम्हालेयता स्वास्थ्य मन्त्रीले मर्यादाविपरीतका क्रियाकलाप गरी आइरहेका छन्। सुरूदेखि नै स्वास्थ्य मन्त्री माफियाहरूको पक्षमा नग्न रूपमा नै वकालत गर्दै आइरहेका छन्। सम्बन्धित निकायहरूलाई खुला रूपमा दबाब र धम्की दिइरहेका छन्,’ उनले भने, ‘मन्त्रीले बुझ्ने क्षमता छ भने के बुझ्नु पर्छ भने अहिले नेपालमा राणातन्त्र वा पञ्चायततन्त्र छैन। प्रजातान्त्रिक मूल्यमान्यताअनुसार चल्नुपर्छ।’

शनिबार ट्रमा सेन्टरमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले डा. केसी ठीक भए पनि उनलाई गिरोहले सञ्चालन गरिरहेको आशयको धारणा राखेका थिए । स्वास्थ्यमन्त्री बस्नेतको उक्त भनाइ बाहिरिएपछि डा. केसीले आइतबार विज्ञप्ति मार्फत आरोप खण्डन गर्नुका साथै स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न माग गरेका हुन् ।

केसीले चिकित्सा शिक्षा आयोग बनेको पाँच वर्षकै अवधिमा सन्तोषजनक रुपमा काम गरिरहेको बताएका छन् । उनले चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार प्रत्येक प्रदेशमा एक सरकारी मेडिकल कलेज वा प्रतिष्ठान २०८० सम्म निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा आइसक्नुपर्नेमा त्यसलाई समेत रोकिएको, सरकारी प्रादेशिक अस्पतालहरू नर्सिङ लगायतका कार्यक्रमहरु सञ्चालन गर्न मापदण्ड यथेष्ट पूरा भए पनि वास्ता नगरिएको भन्दै स्वास्थ्यमन्त्रीलाई ती कामहरु गर्न समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८०, आईतवार १३:४२   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।