Logo

आजको तस्बिर

मकै पोलेर गुजारा टार्नेहरु भन्छन्- ‘स्वाभिमानको कमाइ मिठो हुन्छ’ [तस्बिरहरू]



काठमाडौं । बाटोमा गाडीहरु गुडिरहेका छन् । गाडीहरुबाट निस्केको धुवाँ र धुलो उडिरहेको छ । मान्छेहरु आफ्नै गन्तव्यमा पुग्न हतारमा छन् । सडकको दायाँ वायाँ भएर मान्छेहरु आफ्नो गन्तव्यतिर हिँडिरहेका छन् ।

कोही नागरिकहरु भने त्यही सडकलाई आफ्नो गुजारा चलाउने ठाउँ बनाउन बाध्य छन् । ललितपुरको पुल्चोकमा यस्तै दृश्य देखियो । ठेलागाडामा केही दाउरा, कोइला, हरियो कमै, नुन खोर्सानी राखेर एक दम्पत्ति आफ्नो गुजारा टार्न आम्दानीको लागि मकै पोलेर ग्राहकलाई सन्तुष्टि प्रदान गर्दै थिए । श्रम बजारमा अवसर नपाएकै कारण मकै पोल्न बाध्य भएका उनीहरु मिडियामा परिचय समेत लुकाउन बाध्य भएको बताउँछन् ।

नगरपालिकाले सडकमा व्यापार गर्न नदिने भएकाले उनीहरु नगर प्रहरीबाट भाग्दै आफ्नो गुजारा चलाइरहेका छन् । पुल्चोकमा भेटिएका एक दम्पत्ति नगर प्रहरीको निगरानी गर्दै मकै बेचिरहेका थिए । मंसिरको चिसोमा ग्राहकलाई पोलेको तातो मकै खुवाउन उनीहरू व्यस्त देखिन्थे।

सिन्धुली घर भएका उनीहरूको जीवीकोपार्जनको आधार नै त्यही व्यवसाय हो। मकै पोलेर भएको आम्दानीबाट उनीहरू घरको घरधन्दा धान्छन्। छोराछोरीलाई पढाउँछन्। कोठाभाडा तिर्छन्। तर, महानगरको डरले उनीहरूले खुलेर व्यवसाय गर्न पाएका छनन्। कतै महानगरले आएर आफूहरूका मकै खोसिदिने पो होकि भन्ने डरले उनीहरू बेला-बेला यताउती हेरि रहेका हुन्छन्।

त्यसरी दिनभर धुँवा धुलाे र तापकाे रापबाट उनीहरुले पाँच/सात सय कमाइ गर्छन्। सोही आम्दानी उनीहरूको जीवन जिउने आधार हो। महानगरले दु:ख देला भनेर उनीहरूले नाम भन्न चाहेनन्।

उनीमात्र होइन, काठमाडौंका विभिन्न स्थानमा त्यसरी मकै बेचेर जीवीकोपार्जन गर्ने थुप्रै छन्। उनीहरूलाई राेजागारी दिने न सरकारकाे नीति बनेकाे छ, न त उनीहरु आफैँ कुनै विकल्प खाेज्न सक्छन् । उनीहरुकाे राेजगारीकाे ग्यारेण्टी कुनै तहकाे सरकारले पनि गर्न सकेकाे छैन् । कुनै निश्चित एरिया तोकिदिएर व्यवसाय गर्न पनि सरकारले दिन सकेकाे छैन।

कतै खाली जमिन देख्यो वा कतै सानो खाली ठाउँ पाए त्रासै त्रासमा रहेर उनीहरूले मकै बेचिरहेका हुन्छन्। मेहेनत गर्नुपर्छ। काम सानोठूलो हुँदैन। पाैरखले जोडेको कमाइ मिठो हुन्छ भन्ने उदाहरण पनि यी व्यवसायी हुन्। तर, उनीहरूको मेहेनत र पसिनाको सम्मान सरकारले गर्न सकेको छैन।

उनीहरू दर्के झरीमा छाताको सहारामा पोलेको मकै बेचिरहेका हुन्छन्। धुवाको मुस्लोले फोक्सोमा असर  पुर्‍याउँछ, सडकमा उडिरहने धुलो र गाडिबाट निस्कने धुवाले स्वास्थ्यमा असर गरिरहेकाे हुन्छ। तर, उनीहरू हाँसिखुसी आफ्नो व्यवसायमा सक्रिय देखिन्छन्।

जतिसुकै चर्को घाम होस् वा बादल गर्जेर पानी पर्न लागेको अवस्था होस् काम नगरी जीवन गुजारा गर्न गाह्रो छ। सानो काम गर्न लजाउने हाम्रो समाजमा उनीहरू उदाहरणीय बनेका छन्।

त्यस्तै उदाहरणीय व्यक्तिहरूलाई खोज्दै अनलाइनपानाका लागि तेज किराँतीले खिचेका केही तस्बिरहरू :

 

 

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार १२:०७   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।