काठमाडौं । सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले काठमाडौं विश्वविद्यालयसँग नीतिगत सम्झौता गरेको छ ।
मंसिर २५ गते भएको प्रमुख स्तरीय निर्णयअनुसार उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको रोहवरमा आज शिक्षा अधिकारी सीताराम कोइराला र विश्वविद्यालय स्कूल अफ एजुकेसनका डीन प्रा. डा. बालचन्द्र लुइँटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
महानगरपालिकाले चालू आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएको गौरव योजना ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ लाई दिगो र प्रभावकारी रुपमा सञ्चालन गर्न सहकार्य गरिएको बताइएको छ।
योजनामा टिचर कलेज कार्यक्रम समावेश छ। यो कार्यक्रममा शिक्षकहरूको क्षमता विकास तालिम उपलब्ध गराइनेछ। शिक्षकसँगै शैक्षिक गुणस्तर सुधारमा योगदान गर्न चाहने व्यक्तिहरू कार्यक्रममा सहभागी हुन सक्ने छन्। तालिममा दिइने प्रमाण पत्रलाई वृत्ति विकासका लागि योग्यता मानिनेछ।
सम्झौताबमोजिम शिक्षामा सिप, पुस्तकरहित शुक्रबार तथा बाल सञ्जाल गठन तथा सशक्तिकरण, शिक्षक विद्यार्थीको प्रविधिमैत्री सिप विकास कार्यक्रम, शिक्षण सिकाइ पेडागोजीमा सुधार, विद्यार्थीको नतिजा सुधार र प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नतिका लागि सहकार्य हुनेछ। कार्यक्रम विश्वविद्यालयको स्कूल अफ एजुकेसनमार्फत कार्यान्वयनमा आउनेछ।
टिचर कलेज कार्यक्रम महानगरपालिकाको नयाँ कार्यक्रम हो। यसमा विद्यालयका शिक्षक तथा सम्लग्न जनशक्तिको दक्षता बढाउन तालिम सञ्चालन हुनेछ। यसरी सञ्चालन भएका तालिमबाट प्राप्त गरेको अङ्कका आधारमा योग्यता निर्धाण हुनेछ। यसका लागि छोटो अवधिको पाठ्यक्रम तयार पारिनेछ।
जनशक्तिको क्षमता विकासका क्षेत्र र आवश्यकता पहिचान गर्ने, पाठ्यक्रम र शिक्षण सिकाइ विधि तयार पार्ने स्कूल अफ एजुकेसनले गर्नेछ। यसका लागि आवश्यक पर्ने समय, जनशक्ति तथा अन्य प्रशासनिक खर्चको लागत अनुमान तयार पारेपछि कार्यक्रमगत सम्झौता हुनेछन्।
सम्झौतापछि बोल्दै उपप्रमुख डंगोलले, असल नागरिक उत्पादन गर्न महानगरपालिकाले शिक्षा सुधारका लागि लगानी गरेको बताइन्।
प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, शैक्षिक सुधार कार्यक्रमसँगै विद्यालयको पूर्वाधारका लागि हरित विद्यालय कार्यक्रम कार्यान्वयनमा रहेको जानकारी दिए।





















प्रतिक्रिया