काठमाडौं- काठमाडौं महानगपालिकाले आजदेखि महानगरभित्र सुर्तिजन्य पदार्थ बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ। यसका लागि महानगरले ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ।
काठमाडौं महानगरपालिका, जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ निरूपण र नियमन ऐनअनुसार सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा नियमन र नियन्त्रण गर्न लागिएको महानगरको भनाइ छ।
बुधबार महानगरले पत्रकार सम्मेलन गर्दै आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ।
सार्वजनिक स्थलको १ सय मिटर वरपर बसेर धूम्रपान गरेको भेटिए एक सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ।
काठमाडौं महानगरपालिकाले १५ दिनअघि सार्वजनिक सूचना जारी गरी सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका चुरोट, बिँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोगमा मंसिर २८ गतेदेखि रोक लगाउने र कसैले बिक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्ने जानकारी दिएको थियो।
सोही आधारमा आजबाट सुर्तीजन्य पदार्थमा प्रतिबन्ध गर्न लागिएको महानगरले बुधबार पत्रकार सम्मेलनमार्फत जनाइसकेको छ। त्यसका लागि आज बिहानैबाट महानगरका चार क्षेत्रमा महानगरको प्रहरी परिचालन भएका छन्। राजधानीको पूर्वी, मध्य, पश्चिम र उत्तर क्षेत्रमा ५० जना नगरप्रहरी परिचालन भएका छन्।
सुर्तीजन्य पदार्थमा लगाइएको प्रतिबन्ध कार्यान्वयन भए नभएको अनुगमन गर्न पूर्वी क्षेत्रमा प्रहरी उपरीक्षक दिनेश अर्याल, मध्यमा प्रहरी उपरीक्षक मनोज लामिछाने, पश्चिममा प्रहरी निरीक्षक प्रकाश पण्डित र उत्तरमा प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टको टोली परिचालित भएको हो।
त्यसबाहेक नगर प्रहरी मुख्यालयमा प्रहरी निरीक्षक ईश्वर वाग्लेको कमान्डमा केन्द्रीय सहायता कार्यदल रहनेछ। सुर्तीमात्र नभई खुद्रा चुरोट बिक्रीमा पनि महानगरले रोक लगाउने भएको छ।
यसैबीच कामपाले आजबाट राजधानीमा सञ्चालन भएका सबै रेस्टुराँलाई अनिवार्य रूपमा धुम्रपान सेवन कक्ष राख्नुपर्ने नयाँ नियम ल्याएको छ। कामपाका प्रहरीले राजधानीमा सञ्चालित सबै रेस्टुरेन्ट अनुमगन गरी सेवन कक्ष भए नभएको निक्र्योल गर्नेछ।
महानगरलले पान पसल र खुला रूपमा बिक्री गर्ने खुद्रा पसललगायतलाई निसाना बनाएका छ।




















प्रतिक्रिया