काठमाडाैं । नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्स शनिबारको पहिलो खेलमा वीरगन्ज युनाइटेड फुटबल क्लबलाई हराउँदै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा पोखराले वीरगन्जलाई २-१ ले पराजित गरेको हो ।
पोखराका मोजेस ग्याबा र जो आइदुले १-१ गोल गरे । आइकिन्स बफोरले वीरगन्जका लागि बराबरी गोल गरेका थिए । खेलको छैठौं मिनेटमा नै पोखराले खेलमा अग्रता लियो । आयुष घलानले बक्सको दायाँ पट्टी बाट गरेको क्रसमा स्टेफन अन्नोरले दिएको पासमा मोसेस ग्याबाको प्रहार ब्लक भएपछि बक्सको छेउबाट जाे आइडुले गरेको प्रहारमा वीरगन्जका गोलरक्षक दीप हेरेर मात्र बसे ।
११ औं मिनेटमा नै वीरगन्जले खेलमा बराबरी गोल गर्यो । सुशील लामाको क्रसमा डिफेन्डर आइकिन्स बफुरले हेडर गोल गर्दै खेलमा बराबरी गरे । पोखरा गाेलरक्षक यभ्स प्रिसोको नजिकैबाट गएको बल उनले बचाउन सकेनन् ।
४४ औं मिनेटमा पोखराले पुनः खेलमा अग्रता लियो । स्टेफन अन्नोरको क्रसमा हेडर मार्फत गोल गर्दै मोसेसले खेलमा पोखरालाई अघि बढाए । पहिलो हाफमा लिएको अग्रता नै पोखराको तेस्रो जितका लागि पर्याप्त रह्यो ।




















प्रतिक्रिया