काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ । बंगलादेशले आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई) लाई १९५ रनको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेकाे हो ।
पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २८२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने २४.५ ओभरमै अलआउट हुनुअघि ८७ रनमात्र बनाउन सक्यो ।
यूएईका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । ध्रुव परासरले अविजित २५ रन बनाए । ओपनर अक्षत राईले ११ रन जोडे । बंगलादेशका बलर मारुफ मृद्ध र रोहन्त बोर्सनले तीन–तीन विकेट लिए ।
पहिले ब्याटिङ गरेको बंगलादेशका लागि ओपनर ब्याट्सम्यान आसिकर रहमान एक सय २९ रनको योगदान गरे । उनले एक सय ४९ बलमा एक छक्का र १२ चौका प्रहार गरेका थिए । मोहम्मद रिजवानले ६० रन बनाए । उनले ७१ बलमा एक छक्का र चार चौका प्रहार गरे ।
अरिफुल इस्लामले पनि ५० रन जोडे । उनले ४० बलमा ६ चौका हिर्काएका थिए । यूएईका बलर आयमन अहमदले चार विकेट लिए ।
बंगलादेश सेमिफाइनल खेलमा भारतलाई हराउँदै फाइनलमा पुगेको थियो भने यूएईले पाकिस्तानलाई हराएर फाइनल पगेकाे थियाे ।




















प्रतिक्रिया