Logo

खेलकुद

आइपिएल अक्सन आज : बढीमा ७७ खेलाडी बिक्री हुने, सूचिमा अटाएनन् नेपाली खेलाडी



काठमाडौं- इण्डियन प्रिमियर लिग (आइपिएल) को १७औं सिजनको मिनी अक्सन आज हुँदैछ। अक्सन दुबईमा दिउँसो १:१५ बजेदेखि सुरु हुनेछ।

आइपिएलका १० फ्रेन्चाइजीले अक्सन सूचीबाट बढीमा ७७ खेलाडी अनुबन्ध गर्नेछन्। यसपटक अक्सनको सर्ट लिस्टमा कुल ३ सय ३३ खेलाडी रहेका छन्।

अक्सनमा सबैभन्दा बढी रकम गुजरात टाइटन्ससँग रहेको छ। उसँग ३८ करोड १५ लाख भारु रहेको छ। यसपटक सबैभन्दा कम रकम लखनऊ सुपर जायन्ट्ससँग छ। उसँग अक्सनमा १३ करोड १५ भारुमा मात्र रहेको छ।

यस्तै, कोलकाता नाइट राइडर्समा सबैभन्दा बढी १२ खेलाडीका लागि ठाउँ खाली छ। आइपिएलमा हाल १० टोली छन्। सबै फ्रेन्चाइजीहरूले आफ्नो टोलीमा १८ देखि २५ खेलाडीहरू राख्न पाउँछन्। जसमा बढीमा ८ विदेशी खेलाडीलाई अनुबन्ध गर्नुपर्छ।

आइपिएल अक्सनमा कुल १ हजार १६६ खेलाडीले नाम दर्ता गराएका थिए। जसमा ८३० भारतीय र ३३६ विदेशी खेलाडी थिए। सबै खेलाडीको नाम फ्रेन्चाइज टोलीलाई पठाइएको थियो। जसमध्ये १० टोलीले ३ सय ३३ खेलाडी खरिद गर्न चासो देखाए।

तीमध्ये ३३३ मध्ये २१४ भारतीय र ११९ विदेशी खेलाडी छन्। विदेशी खेलाडीमध्ये २ खेलाडी एसोसिएट देशका पनि छन्। ३३३ मध्ये ११८ अन्तर्राष्ट्रिय र २१५ अनक्याप्ड खेलाडी छन्। अनक्याप्ड भन्नाले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू नगरेका खेलाडीलाई बुझिन्छ। जसमा यू–१९ र घरेलु क्रिकेटका खेलाडी पर्छन्।

यसपटक पनि केही नेपाली खेलाडीले आइपिएल अक्सनमा नाम दर्ता गराएका थिए। तर, अक्सनको अन्तिम सूचीमा भने कुनै पनि नेपाली खेलाडी अटाएनन्।

हालसम्म नेपालबाट स्पिनर सन्दीप लामिछानेले मात्र आइपिएल खेलेका छन्। उनले सन् २०१८ मा दिल्ली क्यापिटल्सबाट आइपिएलमा डेब्यू गरेका थिए। २०२२ सम्म दिल्लीमा रहेका सन्दीप त्यसपछि भने आइपिएलमा बिक्री हुन सकेका छैनन्।

प्रकाशित मिति : ३ पुष २०८०, मंगलवार ०९:१५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।