Logo

खेलकुद

आईपीएल अक्सन–२०२३ : पञ्जाब र दिल्लीले झुक्किएर अर्कै खेलाडी किनेपछि…



काठमाडौं । विश्वमै लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को  मंगलबार सम्पन्न अक्सनमा नाम पञ्जाब किंसले झुक्किएर आफूले टिममा ल्याउन चाहेकाे भन्दा अर्कै खेलाडी किनेकाे छ ।  अक्सनमा पञ्जाब किङ्सले भारतका ३२ वर्षीय खेलाडी सशांक सिंहलाई २० लाख भारतीय रुपैयाँमा खरिद गर्याे जबकी उसले अर्कै शशांकलाई खरिद गर्न चाहन्थ्याे ।

पञ्जाब किङ्सको मालिकमध्येका एक नेश वाडियाले आफूहरूले झुक्किएर अर्कै सशांक सिंहलाई खरिद गरेको प्रतिक्रिया दिएका छन् । ‘अक्सनका क्रममा सशांकको नाम घोषणा हुँदा झुक्किएर झन्डा माथि उठ्यो । खासमा हामी सशांकलाई खरिद गर्ने पक्षमा थिएनौँ । तत्कालै हामीले त्यो कुरा अक्सनकर्तालाई पनि बतायौं । तर, अक्सनकर्ता मल्लिका सागरले हाम्रो कुरा सुनिनन्,’ उनले भनेका छन् ।

खासमा अक्सनका क्रममा पञ्जाब १९ वर्षीय बलर शशांक सिंहलाई किन्ने याेजनामा थियाे । नयाँ खेलाडी खाेजीरहेकाे पञ्जाबले सुरुमा आसुतोष शर्मा र विश्वनाथ सिंहलाई २०–२० लाख भारतीय रुपैयाँमा किनेको थियो । त्यसलगत्तै सशांकको पालो आयो ।

अक्सनकर्ताले सशांकको नाम घोषणा गरेपछि पञ्जाबको मालिकमध्येकी एक अभिनेत्री प्रिती जिन्टाले झन्डा माथि उठाइन् । यसको अर्थ थियो, पञ्जाब सशांकलाई किन्न चाहन्छ । सशांकको न्युनतम मूल्य २० लाख भारतीय रुपैयाँ तोकिएको थियो ।

तर, अन्य क्लबहरूले सशांकका लागि त्योभन्दा बढीको बोली लगाएनन् । अक्सनकर्ता मल्लिकाले सशांकलाई पञ्जाबले किनेको घोषणा गरिन् । त्यसपछि अक्सनकर्ताले अर्का नयाँ खेलाडी तनय त्यागराजनको नाम घोषणा गरे ।

तर, पञ्जाबको टेबलमा अन्यौलको अवस्था देखिन्थ्यो । पञ्जाबको मालिकमध्येका एक नेस वाडिया, प्रमुख प्रशिक्षक ट्रेभर बेलिस पनि अन्यौलकै अवस्थामा देखिन्थे । नेस वाडिया र प्रिती जिन्टाले हात उठाएर अक्सनकर्ताको ध्यान आफूतर्फ तान्न खोजिरहेका थिए । त्यसपछि अक्सनकर्ता मल्लिकाले पञ्जाबका पदाधिकारीलाई एकपछि अर्को प्रश्नको वर्षा गरिन्, ‘के भन्नुभयो ? गलत खेलाडी पर्‍यो रे ? तपाईँ यो खेलाडीलाई किन्न चाहनुहुन्न रे ?’

त्यसको जवाफमा पञ्जाबका मालिक वाडियाले आफूहरूले सशांकलाई खरिद गर्न नचाहेको र भुलवस खरिद गरेको जवाफ फर्काए । तर, अक्सनकर्ता मल्लिकाले अक्सन अगाडि बढिसकेकाले अब कुनै सुनुवाइ हुन नसक्ने जानकारी गराइन् । त्यसपछि पञ्जाबसँग सशांकलाई स्वीकार्नुको कुनै विकल्प बाँकी रहेन ।

खासमा अक्सनमा शशांक सिंह नाम गरेका दुईजना खेलाडी सहभागी भएका थिए, जसकारण पञ्जाब झुक्किएकाे हाे  । दुबै सशांक सिंहको न्युनतम मूल्य पनि समान २० लाख भारतीय रुपैयाँ राखिएको थियो ।

पञ्जाबले झुक्किएर खरिद गरेको सशांक ब्याटिङ अलराउन्डर हुन् । उनले यसअघि दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादमा पनि आबद्ध भएका थिए । तर, उनले आईपीएलको अघिल्लो संस्करणमा मात्र ‘डेब्यू’ खेल खेलेका थिए । अघिल्लो संस्करणको आईपीएलमा उनले हैदराबादबाट १० वटा खेल खेलेका थिए । त्यतिबेला उनले खासै गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । सोही कारणले उनलाई हैदराबादले रिलिज गरेको थियो ।

यसपटक अक्सनका क्रममा पञ्जाबमात्र होइन, दिल्ली क्यापिटल्स पनि झुक्किएर गलत खेलाडी खरिद गर्न पुग्याे । अक्सनमा दिल्लीले सुमित कुमारलाई खरिद गर्न चाहेको थियो । तर, दुई खेलाडीको नाम एउटै परेपछि झुक्किएर दिल्लीले सुमित वर्मालाई खरिद गर्‍यो ।

तर, तत्कालै सौरभ गांगुली र रिकी पोन्टिङले तत्कालै आफ्नो गल्तीको बारेमा अक्सनकर्तालाई जानकारी गराए । त्यसपछि दिल्लीले पुनः सुमित वर्माको स्थानमा सुमित कुमारलाई खरिद गर्‍याे ।

२० लाख रुपैयाँ न्युनतम मूल्य राखिएको सुमित कुमारलाई दिल्लीले एक करोड भारतीय रुपैयाँमा खरिद गरेको हो । सुमित वर्मा भने अक्सनमा बिक्री भएनन् ।

प्रकाशित मिति : ४ पुष २०८०, बुधबार १५:४५   :  बजे

1.5K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।