Logo

खेलकुद

सन्दीपविरुद्धको बलात्कार मुद्दाको पेसी आज, के होला फैसला?



काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको छ। काठमाडौं जिल्ला अदालतमा १ वर्षदेखि विचाराधीन रहेको मुद्दामा फैसलाका लागि पटक पटक पेसी तोकिँदै आए पनि अदालतले निर्णय सुनाउन सकेको छैन।

लामिछानेविरुद्धको मुद्दामा यसअघि गत २४ गते पेसी तोकिएकोमा उक्त दिन लामिछानेका वकिलकै तर्फबाट मुद्दा स्थगित भएको थियो। मुद्दामा हालसम्म ३२ पटक पेसी तोकिएकामा ८ पटक स्थगन मात्रै भएको छ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछाने विरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ। सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ)अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ।

उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सन्दीप विरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको हो।

१७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक-पटक बलात्कार गरेको भन्दै गत वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालमा जाहेरी दिएकी थिइन्।

पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पुर्‍याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको बताएकी थिइन्।

जिल्ला अदालतको आदेशपछि केही महिना थुनामा बसेका सन्दीप उच्च अदालत पाटनको आदेशपछि सर्तसहित थुनामुक्त भएका थिए।

यद्यपि, विदेश जान नपाउने उच्च अदालतको सर्त सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। उच्च अदालतको आदेशपछि थुनामुक्त भएर क्रिकेट टिममा फर्किएका सन्दीप सर्वोच्चको आदेशपछि क्रिकेट खेल्नका लागि विदेश समेत पुगेका थिए।

प्रकाशित मिति : पुष ८, २०८० आईतबार  ८ : ५४ बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।