Logo

खेलकुद

प्रधानमन्त्री कपः मधेशको पहिलो जित



काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा मधेश प्रदेशले पहिलो जित निकालेको छ । पहिलो जित निकाल्ने क्रममा मधेशले गण्डकी प्रदेशलाई ३७ रनले पराजित गरेको हो । पुजा महतोले ब्याटिङतर्फ मधेश प्रदेशका लागि सर्वाधिक ३८ रन बनाउँदा बलिङतर्फ तीन विकेट लिइन् ।

मधेश प्रदेशले दिएको ११३ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश १९.४ ओभरमा ८५ रनमा रोकियो । गण्डकीका लागि सुमन खतिवडाले सर्वाधिक ४२ रन जोडिन् । उनले ३३ बलमा ६ चौकाको मद्दतले ४२ रनको पारी खेलिन् ।

त्यस्तै श्रृष्टि जैशीले १५ रन योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । गण्डकीका दुवै ओपनरले खाता नै खोल्न सकेनन् ।

गण्डकीलाई रोक्न मधेशकी पुजा महतोले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै सरस्वती कुमारी, कविता गौतम र साक्क्षी यादवले एक एक विकेट लिए । गण्डकीका चार खेलाडी रनआउटको शिकार भए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रन बनाएको थियो ।

मधेश प्रदेशका लागि पुजा महतोले सर्वाधिक ३८ रन जोडिन् । त्यस्तै सरस्वती कुमारीले २६ र प्रतिमा साहले १० रनको योगदान गर्दा अन्य खेलाडी सस्तैमा आउट भए । गण्डकीका लागि सुमन खतिवडाले तीन तथा श्रृष्टि जैशी र कुशुम गोदारले एक एक विकेट लिए ।

प्रकाशित मिति : पुष ९, २०८० सोमबार  १ : ५९ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।