Logo

बैंकिंग

कुमारी बैंकबाट एक महिनाको लागि १ लाख कर्जा बिना धितो लिन सकिने



कुमारी बैंक लिमिटेडले फोनलोन नामक नयाँ कर्जा सुविधा लिएको छ । बैंकले आफ्ना ग्राहकमाझमा सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा संचालनमा ल्याएको हो ।

कुमारी बैंकमा विभिन्न तलब खाता संचालन गरिरहेका ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम  १ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट फोनलोन सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । कर्जाको लागि कुनै पनि धितो आवश्यकता रहने छैन । साथै कुनै निवेदन दिन र कानूनी कागजात गरीरहनु समेत नपर्ने बैंकले जनाएको छ ।

ग्राहकलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न फोनलोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ । आगामी दिनहरुमा कुमारी बैंक लि.ले आफ्ना सेवाहरुलाई अझ सहज र डिजिटल मैत्री बनाउँदै लगिने विश्वास दिलाएको छ ।

आफ्ना देशव्यापी १८४ शाखा–संजाल, १४४ एटिएम, २१ शाखारहित बैंकिंग इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित : १७ कार्तिक २०७७, सोमबार