काठमाडौं । उद्योग वाणिज्य संघ दोलखाकाे आयोजनामा शुक्रबारदेखि सुरु हुन लागेकाे बृहत्त दोलखा महोत्सवको तयारी पूरा भएको छ।
यही पुस १३ देखि २२ गतेसम्म दोलखा सदरमुकाम चरिकोटमा आयोजना हुने १० दिने महोत्सवको लागि विभिन्न ठाउँहरूमा प्रवेशद्धारा निर्माण गरिएको छ भने चरिकोट बजार सजाउँदै महोत्सवको सबै तयारी पुरा भएको दोलखा उद्योग वाणिज्य संघले जनाएको छ।
पुस १३ गतेदेखि सुरु हुने महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठले जानकारी दिए।
महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री वितरणका साथै प्रवर्द्धन गर्ने गरी १ सय ५० वटा स्टल राखिने दोलखा उद्योग वाणिज्य संघले जनाएको छ।
स्टलमा विशेष गरी सबै स्थानीय तहहरू, सरकारी निकाय, निजी क्षेत्र, कृषक, विभिन्न समूहहरू, संघसंस्था, उद्योगी व्यवसायीका उत्पादन सामग्रीलगायत प्रदर्शनीका लागि राखिने छ भने विभिन्न खानाका परिकारहरू स्टलमै उपलब्ध गराइने छ।
काठमाडौंबाट नजिकै रहेको बागमती प्रदेशको सुन्दर हिमाली जिल्ला दोलखाले आर्थिक क्रान्तिका आधारहरू तय गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले बताए।
महोत्सवले दोलखा जिल्लालाई पर्यटन, कृषि, अन्नबाली र जलस्रोतमा अब्बल जिल्लाका रूपमा सिंगो राष्ट्रमाझ उभ्याउँदै आर्थिक विकासमा फड्को मार्ने विश्वास आयोजकको रहेको छ। दोलखा महोत्सवको दिव्यदृष्टि, आर्थिक क्रान्तिको नयाँ सृष्टि’ भन्न नारासहित आयोजना गर्न लागिएको हो। महोत्सवको उद्घाटन समारोहमा दोलखा जिल्लाका विभिन्न जातजाति, भाषाभाषिका कला संस्कृति समेटिएको झाँकी प्रदर्शनका कार्यक्रम रहेको आयोजकले जनाएको छ।
दोलखालाई लगानीमैत्री जिल्लाका रूपमा विकास गर्ने यस संघको उद्देश्य रहेको छ। पर्यटन, कला संस्कृति, जलस्रोत तथा कृषि क्षेत्रमा धनी दोलखाको आर्थिक विकास र पर्यटन प्रवद्र्धनका लागि आयोजना हुन लागिरहेको महोत्सव सफल पार्न र दोलखाका चरिकोट बजार, जिरी र पर्यटकीय स्थलहरु दोलखा भीमेश्वर, कालिञ्चोक भगवती, शैलुङ, च्छोरोल्पा हिमताल, विगु गुम्बा, रोल्वालिङ उपत्यका, हनुमन्तेडाँडा, चेर्दुङ लगायतलाई थप प्रचार प्रसारमा सहयोग गर्न सबै समक्ष उद्योग वाणिज्य संघ दोलखाले आग्रह गरेको छ।
त्यस्तै मिलन नेवार, राजनराज शिवाकोटी, एलिना चौहाल, प्रिती आले, ज्योती मगर, नवराज घोरासैनी, रमेश प्रसाईं, प्रताप दास, रमेशराज भट्टराई, हरिबहादुर राउतलगायतका राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै स्थानीय कलाकारहरुको प्रस्तुती, विविधि सांस्कृतिक कार्यक्रम, ब्याडमिन्टन प्रतियोगिता लगायत कार्यक्रमसमेत हुनेछ। महोत्सवमा चरिकोट टुँडिखेलदेखि भ्यूटावर हुँदै देउरालीसम्म घोडचडि सञ्चालन गरिनेछ।
महोत्सव हेर्न आउने विद्यार्थी तथा अपाङ्ग, वृद्ध जेष्ठ नागरिकहरुलाई विषेश छुटको व्यवस्था समेत गरेको आयोजकले जनाएको छ।






















प्रतिक्रिया