Logo

मनोरञ्जन

पर्खिएकी आमा



अग्ला शैल पहाड पर्वतहरू — हरियाली पाखाहरू
चिरबिर कोकिल बोल्छ साथ बचेरा — संगीतका भाकाहरू
शान्ति सत्य छ हिंसा गर्न नहुने — वैदिक समाजमा सधैँ
अग्रज वृद्ध र साथ बालबनिता — सत्मार्गमा थे सधैँ

।।१।।

नारी सृष्टि सधैँ रहिन् जगतकी — ब्रहमाण्ड रच्ने उनी
अर्काको दुःख कष्ट देख्न नसकी — भगवान् पुकार्ने उनी
सन्तान राम्रो भए सुख सयल छ — मानवचोलाधन्य छ
दुष्टै पुत्र घरान कुलत् हुन गए — बाँच्नु त्यहाँ शून्य छ ।

।।२।।

विदेशि ती गगन छुने महलमा — सन्तुष्टि खोज्ने भए
आमाको ममता र साथ नदेखी — विदेशी रोज्ने भए
आफ्नो शक्ति हुँदा सधैँ डुलिरहे — सन्तान् सुख सोचमा
बालबच्चा उडे आज सक्षम भई — सम्पतिको खोजमा

।।३।।

छोरी अन्त गइन् विहागरिकनै — छोरा छ खाडी महाँ
पाखो बाँझो छ आज सुन्दर भूमि — घर शून्य छ साँझमा
साँचो माया त्यो हो सधैँ एक भए — बुढाबुढी साथमा
सन्तान्को सुख भोग गर्न कठिनै — पाँइदो छ यो माथमा

।।४।।

जन्म्यो काख छुट्यो र साथ अरुको — आशा भरोसा त्यहाँ
बाँच्नु छ एक सास लिई सँग महाँ — सन्तानको आशमा
आशीर्वाद सधैँ सधैँ दिइरहे — टाढा भएता पनि
फुलोस् जीवन फूलझैँ बिचमहाँ — काडाँ भएता पनि

।।५।।

हे बाबु तिमी आज के लिन गयौँ — त्यागेर गाउँ सबै
सास फेर्नै पनि सक्दिन दिलमहाँ — तस्बिर तिम्रो नभई
जिउँदो लास बनाई निर्दयी भयौ — व्यस्त यो संसारमा
बाँच्ने आशा मर्‍यो खुसी गुमे यहाँ — सन्तानकै भावमा

।।६।।

बाँझो साथ निरस् हुँदै जतिगयो — पाखा पखेरा पनि
फुल्ने मास गयो शोभा नदिएरै — बन्को गुराँसै पनि
बाटो हेर्न थकित् थिए नयनलौ — सन्तानको आशमा
गुम्यो साथ जवान सुन्दर शरीर — अड्किएरै सासमा

।।७।।

लाग्ला भोक थकाइ साथ निदरी — कार्यालय व्यस्तता
छैनन् साथ रमेर व्यतित हुने — आलस्य ज्यानै हुँदा
चिन्ता, शोक र रोगले गलिसके — एक्लो अँध्यारो भए
बोल्थे साथ चिच्याउथे निदरीमा — सन्तान आउने भए

 

 

प्रकाशित मिति : १५ पुष २०८०, आईतवार १३:१७   :  बजे

861
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।