Logo

प्रमुख समाचार

त्रिविको उपकुलपतिका लागि विज्ञापनमा अनुभव हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् ।

शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई आफ्नै कार्यकक्षमा बोलाएर प्रधानमन्त्रीले उक्त विज्ञापन सच्चाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

विश्वविद्यालयको सुधारका निम्ति आफूले संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित सूचनाले योग्य मान्छेहरू छनोटको ढोका बन्द हुन सक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गरेको सूचना निकालेपछि त्यसको विरोध भएको छ ।

पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाएर फेरि सूचना प्रकाशित गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार १६:३०   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।