Logo

सुरक्षा/अपराध

तनहुँका विभिन्न स्थानबाट २६ फरार प्रतिवादी एकैदिन पक्राउ



जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २६ जना फरार प्रतिवादीहरुलाई विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको छ ।

जसमध्ये बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७६ चैत २ गतेको फैसलाले ७ दिन कैद र ६ लाख ६७ हजार रुपैयाँ ठहर भई फरार रहेका म्याग्दे गाउँपालिका-३ बस्ने ३१ वर्षीय अमृत भट्टराई, साधारण चोरी मुद्दामा जिल्ला अदालत तनहुँको  २०७६ असार ८ गतेको फैसलाले जनही २ वर्ष २ दिन कैद र २२ हजार ५ सय रुपैयाँ जरिवाना सजाय भई फरार रहेका शुक्लागण्डकी नगरपालिका -३ बस्ने सन्तोष खंग र सोही नगरपालिका-९ बस्ने माईकल भन्ने सन्तोष गौतम, जारी मुद्दामा जिल्ला अदालत तनहुँको २०७१ मंसिर ७ गतेको फैसलाले जनही १/१ महिना कैद र १ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका भानु नगरपालिका-६ बस्ने बिमल थापा मगर र उनकै श्रीमती सञ्जु थापा मगर रहेका छन् ।

उनीहरूको साथै लागूऔषध मुद्दामा फरार १ जना, गाली बेइज्जती मुद्दामा फरार २ जना, जारी मुद्दामा फरार २ जना, नाता कायम मुद्दामा फरार १ जना, करकाप मुद्दामा फरार ८ जना, लिखत वेइज्जती मुद्दामा फरार ६ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार १ जना गरी जम्मा २६ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

सबै जनालाई तोकिएको जरिवाना तथा कैद भुक्तानका लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार १४:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।