काठमाडौं । ओपनर आशुतोष घिरैयाको शतक र अलराउन्डर ईशान पाण्डेको उत्कृष्ट बलिङमा बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई ६४ रनले हराउँदै तेस्रो जित हात पारेको छ ।
जितको लागि २७४ रनको विजयी लक्ष्य पछ्याएको कोशी ४७.१ ओभरमा २०९ रनमा अल आउट भयो । कोशीका लागि सुजन थपलिया र कप्तान अंकित सुवेदीले अर्धशतक प्रहार गरेपनि अन्य ब्याटरले त्यसअनुसार योगदान दिन सकेनन् । यता बागमतीका लागि इशान पाण्डेले ५ विकेट लिँदै जितको आधार तय गरे ।
यस जितसँगै बागमती अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ५ खेलमा बागमतीको ३ जित र २ हारसँगै ६ अंक छ । सुदूरपश्चिम ३ खेलमा शत प्रतिशत जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ । कोशी ५ खेलमा बिना कुनै अंक पुछारमा छ । गण्डकीले पनि ३ खेलमा कुनै अंक जोडेको छैन ।
बलियो लक्ष्य पछ्याउने क्रममा कोशीले १२ औं ओभरमा ४५ रन जोड्दा सोनु अन्सारीलाई गुमाएको थियो । २१ रन जोडेका सोनुलाई प्रतिक श्रेष्ठको बलमा अम्पायरले कट बिहाइन्ड आउट दिँदा उनी निकै असन्तुष्ट देखिएका थिए । त्यसपछि क्रिजमा आएका मिनाश थापा पहिलो बलमै रनआउट भए । प्रतियोगितामा चौथो खेल खेलेका उनले पुन: एकपटक रन जोड्न सकेनन् । ४ खेलमा उनले मात्र ३ रन जोडेका छन् ।
अंकित र सुजनले तेस्रो विकेटका लागि ६९ रनको साझेदारी गर्दै खेलमा कोशीको सम्भावना कायम राखेका थिए । अंकित ६५ बलमा ५३ रन जोड्दै २५ औं ओभरमा आउट भए । ४ चौका र २ छक्का प्रहार गरेका उनी इशान पाण्डेको बलमा क्याच आउट भए ।
त्यसपछि फिर्दोस अन्सारीले १८ बलमा ५ रन जोड्दै इशान पाण्डेकै बलिङमा क्याच फर्काए । सुभान गहतराज ८ बलमा ४ रन जोड्दै सूर्य तामाङको बलमा स्टम्प्ड आउट भए । अर्धशतक पूरा गरेका सुजन पनि सूर्यकै शिकार बने । ५९ रनमा खेलिरहँदा उनलाई सूर्यले बोल्ड गरेका थिए । सुजनले ७६ बलमा ५९ रन जोड्ने क्रममा ४ चौका र ३ छक्का प्रहार गरे ।
कोशीका लागि आइश भट्टराई ३८ बलमा ३२ रन जोड्दै नटआउट रहे । उनले ३ चौका जोडे । हेमन्त राई १० रन जोड्दै रिजन ढकालको बलमा आउट भए ।
बागमतीका लागि सूर्यले ४८ रन खर्चेर २ विकेट लिए । प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडी उनले ५ खेलमा १९ विकेट लिइसकेका छन् । प्रतिकको नाममा पनि १ विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएका बागमतीका लागि आशुतोषले आक्रामक ब्याटिङ गर्दै करिअरको पहिलो शतक पूरा गरे । बागमतीले ४८.३ ओभरमा अलआउट हुनुअघि २ सय ७३ रन जोड्यो ।
आशुतोषले १ सय ११ बलमा १ सय १८ रन जोडे । उनले कुल १६ चौका र २ छक्का प्रहार गरे । आशुतोषले ९९ बलमा शतक पूरा गरे । कमल खत्रीको बलमा एज लाग्दै थर्ड म्यान तर्फ चौका गएपछि उनको शतक पूरा भएको थियो ।
आशुतोषले टोलीको स्कोर २८ रन रहँदा ओपनर इशान पाण्डेको साथ गुमाएका थिए । इशान ६ रन जोड्दै क्याच आउट भएका थिए ।
यी दुईले दोस्रो विकेटका लागि १ सय ३१ रनको साझेदारी गरे । रित ६० बलमा ३ चौकासहित ४९ रन जोड्दै विकेटकिपरको हातबाट समातिए ।
३३ औं ओभरमा हेमन्त राईको बलमा आशुतोष कमल खत्रीको हातबाट क्याच आउट भएका थिए । बागमतीका लागि विकेटकिपर रविन जोशीले ४३ रनको योगदान दिए । उनले ३ चौका र १ छक्का प्रहार गरे । एक समय ३ सय रनको आँकडा छुने सम्भावना देखिएको बागमती अन्त्यतिर भने लगातार विकेट पतनको शिकार बन्यो । बागमतीले अन्तिम ६ विकेट २२ रनको अन्तरमा गुमाएको थियो ।
कोशीका लागि अभ्यास तिम्सिनाले ३, कमल खत्री र हेमन्त राईले २-२ तथा फिर्दोश अन्सारीले १ विकेट लिए ।




















प्रतिक्रिया