काठमाडौं- आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ।
नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकप खेल्न लागेको हो। गएको फागुनमा १९ वर्षमुनिको एसिया डिभिजन–१ को उपाधि जित्दै नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकपमा स्थान पक्का गरेको थियो।
नेपालको समूह ‘डी’ मा तीन टेस्ट टोली न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन्। हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन्।
नेपालले १९ वर्षमुनिकाे विश्वकपअघि चार अभ्यास खेल खेलेको छ। युवा विश्वकपमा हालसम्म नेपालले दुई पटक न्युजिल्यान्डविरुद्ध खेल्दा अपराजित यात्रा कायम राखेको छ।
नेपालले विश्वकपमा न्युजिल्यान्डविरुद्धको दुवै खेलमा जित निकालेको थियो। यसअघि नेपालले सन् २००६ मा भएको युवा विश्वकपमा एक विकेटले सन् २०१६ मा भएको विश्वकपमा ३२ रनले हराएको थियो।
आजको खेलपछि नेपालले जनवरी २४ मा पाकिस्तान र जनवरी २७ मा अफगानिस्तानविरुद्ध खेल्नेछ। प्रतियोगितामा आजै श्रीलङ्का र जिम्बावे पनि खेल्दैछन्।
हिजो भएका खेलमा भारतले बङ्गलादेशलाई ८४ रनले हरायो। यस्तै, इङ्ग्ल्यान्डले स्कटल्यान्डलाई सात विकेटले र पाकिस्तानले अफगानिस्तानलाई एक सय ८१ रनले हराएको छ।




















प्रतिक्रिया